२०८२ वैशाख ५ , शुक्रबार (2025 Apr 18, Friday)

दोश्रो डम्बर खड्का स्मृति कराँते प्रतियोगिता



दैलेख – पूर्व सञ्चारकर्मी स्वर्गीय डम्बर खड्काको स्मृतिमा दैलेखमा आयोजना गरिएको दोश्रो जिल्ला स्तरीय कराँते प्रतियोगिताका विजेताहरुलाई पदक तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ । खड्काकी ज्येष्ठपुत्री कराँते खेलकी राष्ट्रिय खेलाडी हेमा खड्काले प्रतियोगिता आयोजना गर्नुभएको हो ।

महिला काता प्रथम श्रृजला बिष्ट, द्वितीय प्रतीक्षा कोइराला र तृतीय कृतिका कटुवाललाई सम्मानित गरिएको छ । महिलाहरुमा ४२ केजी समूहमा प्रथम र द्वितीय श्रृजना बिष्ट र बविता थापालाई पदक र कदरपत्र सहित सम्मान गरिएको थियो ।

त्यसैगरी महिला तर्फकै ५० केजी समूहमा प्रथम मीनाकुमारी बिक, द्वितीय भावना शाही र तृतीय प्रतीक्षा कोइरालाई सम्मान गरिएको छ । ५५ केजी समूहमा प्रथम कृतिका कटुका र द्वितीयमा कमला सिंहलाई पदक र कदरपपत्रबाट सम्मान गरिएको थियो ।

दोश्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा पुरुष कातातर्फ प्रथम अर्जुन बोहोरा, द्वितीय राजेन्द्र बोगटी र तृतीय जीवन सिंहलाई पदक र कदरपपत्रबाट सम्मान गरिएको थियो । प्रतियोगितामा पुरुष ४५ केजी तर्फ सुदीप थापा र जीवन सिंहले प्रथम र द्वितीय पुरस्कार जित्नुभएको छ ।

पुरुष ५० केजी समूहमा प्रथम राजेन्द्र बोगटी, द्वितीय अर्जुन बोहरा र तृतीय संगम खत्रीलाई पदक र कदरपपत्रबाट सम्मान गरिएको थियो । ६० केजी समूहमा प्रथम बिमल सिंह र द्वितीय हुनुभएका कमल शाहीलाई पनि पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा वेस्ट फाइटर कृतिका कटुवाल, व्वायज तर्फ वेस्ट फाइटर राजेन्द्र बोगटी र गल्र्स वेस्ट फाइटरमा सिर्जना बिष्टले उत्कृष्ट खेलाडी ट्रफी पाएका प्रतियाेगिता आयोजक कराँते खेलकी राष्ट्रिय खेलाडी हेमा खड्काले जानकारी दिनुभयो ।

कराँते खेलकी राष्ट्रिय खेलाडी हेमा खड्काले तीन वर्ष अघि दिवंगत हुनुभएका बुबा डम्बर खड्काको स्मृतिमा अघिल्लो वर्षदेखि जिल्ला स्तरीय कराँते प्रतियोगिता गर्न थाल्नुभएको हो । रेडियो धु्रवताराका संस्थापक डम्बरको ५३ वर्षको उमेरमा २०७९ वैशाख ४ गते निधन भएको थियो ।

पुरस्कार वितरण समारोहमा नौमूले गाउँपालिका अध्यक्ष छविराम सुबेदीले स्वर्गीय डम्बर खड्का सार्वजनिक सरोकारका विषयका आवाज उठाउने क्रान्तिकारी व्यक्ति भएको बताउदै उहाँको छोरीले खेल क्षेत्रमा पाएको ख्याति र प्रतियोगिताको निरन्तरताले स्मृति ताजा बनाएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोपाल बीसीको अध्यक्षतामा भएको प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, फोटो पत्रकार महासंघका केन्द्रीय सचिव विशाल सुनार लगायतले स्वर्गीय खड्काको सामाजिक सेवा बारे चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार