
दैलेख – लगातारको असिना–पानीले दैलेखको विभिन्न ठाउँमा तरकारी खेती र गहुँबाली नोक्सानी पु¥याएको छ । महाबु गाउँपालिका वडा नं. ५ काँशिकाँध र वडा नं. ६ टाकुरी क्षेत्रमा पाकेको गहुँ असिनाले झारेर तहसनहस पारेको महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जू पाण्डेले जानकारी दिनुभयो ।
असिनाले डुंगेश्वर गाउँपालिका वडा नं. ६ सिस्नेटारमा उन्नति कृषि फाराम पाँच रोपनीमा लगाइएको काँक्रा र तीन रोपनी क्षेत्रफलमा लगाइएको टमाटर खेतीमा नोक्सानी पुगेको सञ्चालक देवेन्द्र गोदारले बताउनुभयो । करिब चार लाख मूल्य बराबरको तरकारी क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
गएको माघमा लगाएको काँक्रा ठिक्क फल लागेको बेला ठूलो असिना–पानी परेकोले पूरै नोक्सानी भएको गोदारले सुनाउनुभयो । असिनाले काँक्रा लगाएको क्यारीमा २५ माइक्रोनको प्लाष्टिक छियाछिया पारेर प्वाल पारेको र जमिन रहेका काँक्रा र टमाटरको फलसंगै बिरुवालाई थिलोथिलो पारेको छ ।
असिना–पानीले उन्नति कृषि फाराम जस्तै अरु धेरै कृषकहरुको तरकारी बालीमा नोक्सानी पुगेको जानकारी आएको डुंगेश्वर गाउँपालिकाका कृषि शाखा इञ्चार्ज कृषि विकास अधिकृत (सातौं) मेनुका पाण्डेयले बताउनुभयो । क्षतिको लगत लिने काम भइरहेको कृषि विकास अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।
दुल्लू नगरपालिका वडा नं. १३ की कृषक धनसरा शाहीले पनि फसल निकाल्न लागेको काँक्रा, टमाटर र गोलभेडाको तरकारीमा नोक्सानी पुगेको बताउनुभयो । भगवतीमाई गाउँपालिका वडा नं. १ बेस्तडाका कृषक लोकविक्रम थापाले फर्सी, सिमीको फल, आलु र सुर्खानीको बेर्नामा क्षति पुगेको जानकारी दिनुभयो ।
यस्तो क्षतिको तथ्यांक लिने तर सरकारी तहबाट राहत सहयोग नपाएको महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जू पाण्डेले दुखेसो पोख्नुभयो । बाली नोक्सानीको विवरण लिइसकेर बजेट विनियोजन भएर राहत आउन ढिला हुने गरेको कृषि विकास कार्यालय दैलेखका कृषि अधिकृत झलक भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्