२०८१ चैत ३० , शनिबार (2025 Apr 12, Saturday)

तल्लोडुंगेश्वरमा बजार अनुगमन : अवैद्य मदिरा बरामद



दैलेख – जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालय दैलेखकाे अग्रसरतामा खाद्यबस्तुको शुद्धता, नाप ताैल र गुणस्तर अवस्था बारे तल्लोडुंगेश्वर बजारको अनुगमन गरेको छ । गुराँस गाउँपालिका–१ र दुल्लू नगरपालिका–१ को वारीपारी तल्लोडुंगेश्वर बजारको अनुगमन गरिएको हो ।

खाद्य खुद्रा, होटल र एग्रोभेट समेत एक दर्जन भन्दा बढी होटल, पसल र व्यवसायीहरुको दर्ता प्रक्रिया, दर्ता गरिएको निकायबाट नियमित नवीकरण गरे–नगरेको, सरकारलाई तिर्नुपर्ने कर चुक्ता अनुगमन गरिएको वा नगरिएको, बिलबिजक, खरिद–बिक्री खाता लगायतका कारोबार अवस्था समेत चेकजाँच गरिएको थियो ।

अनुगमनको क्रममा एउटा नाममा दर्ता भई अर्कैै नाम तथा पहिचानमा व्यवसाय चलाइएको, होटलमा अन्तशुल्क विभागको अनुमति नलिई मदिरा बेच्ने गरिएको लगायतका समस्या पाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी दिपक कार्कीले जानकारी दिनुभयो ।

एउटा नाममा दर्ता भई अर्कैै नाम तथा पहिचानमा व्यवसाय चलाइएको, होटलमा अन्तशुल्क विभागको अनुमति नलिई मदिरा बेच्ने गरिएको लगायतका समस्या पाइएकोले जिल्ला प्रशासन कार्यालय दैलेखका बजार अनुगमन अधिकृत गणेशप्रसाद कोइरालाले तीन वटा पसललाई पाँच हजार जरिवाना तोक्नुभयो ।

बजार अनुगमनकै क्रममा करिब एक लाख मूल्यको २९ कार्टुन बियर नियन्त्रणमा लिइएको छ । उपभोक्ताहरु स्वयम्लाई स्वास्थ्यप्रति सजग रहन र व्यापारीहरुलाई गुणस्तरीय खाद्यबस्तुहरुको मात्र बिक्री वितरण गर्न सचेत गराउन अनुगमन गरिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कार्कीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेखका बजार अनुगमन अधिकृत गणेशप्रसाद कोइराला, नासु जीतबहादुर खत्री, स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी दिपक कार्की, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, तल्लो डुंगेश्वर प्रहरी चौकीका इञ्चार्ज असई समेत अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार