२०८१ चैत ३० , शनिबार (2025 Apr 12, Saturday)

हराएको तीन महिने शिशु फेला



दैलेख – तीन महिने शिशु घरबाटै हराएको १४ घण्टामा फेला परेकी छिन् । परालको टौवा लागेको आगो निभाउन गएको बेला सुताएकै ठाउँबाट बिहीबार राति ९ बजेतिर शिशु हराएकी थिइन् ।

ठाटीकाँध गाउँपालिका–१ सिलाडीका स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा हराएकी थिइन् । छिमेकीले घर पछाडि परालको टौवामा आगो लागेको भन्ने सूचना दिएपछि परिवारका सबै सदस्यहरु आगो निभाउन गएको बेला शिशु हराकी थिइन् ।

सुताएको ठाउँबाट शिशु हराएको प्रहरीलाई राति नै सूचना आयो, खोज्दै जाँदा छिमेकी गाउँ चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ लामिडाँडा जङ्गलमा लुकी बसेकी २० वर्षीया शर्मिला बिष्टको साथमा फेला परेकी जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर सुनारले जानकारी दिनुभयो ।

फेला परेकी शिशुको स्वास्थ्य तन्दुरुस्त रहेको र दुल्लूका तीन जना युवाहरुले ल्याएर छोडेको शिशु समाएकी ती युवतीले बताएकी जनाइएको छ । परालमा आगो लगाउने र शिशु चोरी गर्नेसम्मको काम समूहगत र नियोजित रुपमा गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शिशुलाई समाएर लुकी बसेकी २० वर्षीया शर्मिला बिष्ट चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ सिरौल गाउँकी बासिन्दा भएको, शिशु लैजानु परेको कारण र यसको प्रकरण बारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार