२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

वरिष्ठ पत्रकार भैरव रिसालको निधन



काठमाण्डौं – सात दशक पत्रकारिता गरेको वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । काठमाण्डौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार राति करिब ९ बजेतिर उहाँको निधन भएको छोरी सुस्माले जानकारी दिनुभयो ।

उहाँले जीवित छँदै शरीर दान स्वघोषणा गर्नुभएकोले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव सोमबार हस्तान्तरण गरिने छोरी सुस्माले बताउनुभयो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको गुण्डु गाउँमा भएको थियो ।

२०१३ मा हालखबर दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका रिसाल २०२० देखि २२ वर्ष राससकाे सम्वाददाता हुँदै प्रमुख सम्वाददाताकाे पत्रकारिता वाहेक रेडियो सगरमाथामा ‘उहिले कुरा’ नामकाे रेडियाे कार्यक्रम र विभिन्न पत्रिकामा स्तम्भ लेखन गर्नुभई पत्रकारितामा याेगदान गर्नुभएकाे थियाे ।

भैरव रिसालको आत्मकथा साधुलाई सूली (२०५३) र पत्नी सुशीलासँग मिलेर सुशीला भैरव (२०६६) लगायतका साहित्य कृतिहरु प्रकाशित छन् ।

तथ्यांक विभागले २०१८ मा गरेको जनगणनामा दार्चुलाको लिपुलेक, कालापानी नेपालको भूमि हो भन्ने तथ्यको जिउँदो साक्षीको रुपमा आफूलाई उहाँले पैरबी गर्नुभएको थियो ।

राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार