२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

पत्रकार माथि धम्की : महासंघको ध्यानाकर्षण



सुर्खेत – अन्नपूर्ण पोष्ट दैनिकमा सुर्खेत सम्वाददाता बिस्नप्रसाद न्यौपानेलाई पत्रिकामा समाचार प्रकाशित गरेकाेको बिषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्ने विषयमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा गाली गर्ने, अपशब्द बोल्नुसंगै ‘जे पनि हुनसक्छ’ भनी ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले पत्रकार न्यौपाने माथि मानसिक तनाव दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।

महासंघका कर्णाली प्रदेश समितिका सचिव समेत रहेका न्यौपानेले चैत्र १२ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा ‘विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त र परिवारको रजगज’ शीर्षकमा सुर्खेतको कोपिला भ्याली सेवा समाजको बेथितिका बिषयमा समाचार लेख्नुभएको थियो ।

कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लका आफन्तहरु प्रकाश सिंह, लोकजंग सिंह ठकुरी लगायतले पत्रकार न्यौपानेलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको र आफुले असुरक्षित महसुस गरेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन समेत दिनुभएको छ ।

सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा असहमति भए कानूनी उपचार खोज्ने बाटाहरु हुँदाहुँदै ज्यान मार्ने धम्की दिइन  दुखकाे कुरा भएको भन्दै घटनाको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले भर्त्सना गरेको छ । महासंघले दाेषीलाई कारवाही र पत्रकारलाई निर्बाधरुपमा काम गर्ने वातावरण सिर्जना गर्न सरकारसंग माग राखेको छ ।

प्रकाशित मिति : २०८१ चैत १३ गते बुधबार