२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

विकास गर्न सबै क्षेत्रको इमान्दार प्रयास जरुरी



दैलेख –  प्रतिनिधिसभाका साँसद दिक्पालकुमार शाहीले कर्मचारी संयन्त्र, जनप्रतिनिधि र राजनीतिक नेतृत्व नागरिकको हित र देश विकासका लागि उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले मंगलबार जम्बुकाँधमा आयोजना गरेको पालिका स्थापना दिवस कार्यक्रममा उहाँले देशको विकास गर्न सबै क्षेत्रको इमान्दार प्रयास जरुरी रहेको चर्चा गर्नुभयो ।

साँसद शाहीले विरामी भएको बेला जिल्ला आउँदा आफूलाई निको हुने गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्र नं. २ का नागरिकहरुले आफूलाई फोन गरेको बेला कल व्याक गर्ने गरेको सुनाउनुभयो । ‘गाउँठाउँमा रिचार्ज नहोला, मलाई फोन गर्नेहरुको फोन उठाएर राख्नुस् भनेर म आफू कल व्याक गर्छु अनि कुनै बेला उठाउन नपाएको फोन पनि आफैले कल व्याक गर्छु’ उहाँले भन्नुभयो ।

‘हाम्रो काम नीति निर्माण गर्ने हो तर यति विकट ठाउँमा विकासको आवश्यकता पूरा गर्नु पनि साँसदको दायित्व हो, यो दायित्वमा पनि म चुकेको छैन साँसद शाहीले भन्नुभयो । साँसद भएको अढाई वर्ष कार्यकालमा २ अरब रुपैंयाँको विकास कार्यक्रम क्षेत्र नं. २ मा भित्र्याएँ, स्थानीय आवश्यकता बारे नगरपालिकाले भने यसमा पनि पहल गर्नेछु’ उहाँले आश्वासन दिनुभयो ।

त्यसबखत कर्णाली प्रदेशसभाका साँसद इन्द्राकुमारी शाहीले स्थानीय आवश्यकता असीमित भएका राज्यको साधन श्रोतको सीमितता भएको कारण चाहे जतिको विकास हुन नसकेको उल्लेख गर्दै महिला तथा पछाडि पारिएका नागरिकहरुको जीवनस्तर उठाउने कार्यक्रमहरुमा कर्णाली प्रदेश सरकारका कार्यक्रम केन्द्रित रहेको चर्चा गर्नुभयो ।

कर्णाली प्रदेशका पूर्वमन्त्री हिमबहादुर शाही, नेपाली काँग्रेसका जिल्लासभापति मणिराम रेग्मी लगायतका विभिन्न पदीय जिम्मेवारी रहनुभएका व्यक्तिहरुले चामुण्डाबिन्द्रासैनी नगरपालिकाले गरेका विकास प्रयायहरुको प्रशंसा गर्दै भावी दिन गरिने विकास गतिविधिहरुमा सहकार्य, समन्वय र सहयोगमा आफूहरुको सहयोग रहने बचन दिनुभयो ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले संघीय संरचनापछि स्थानीय तहलाई सके जतिको साधनश्रोत र अधिकार दिएको छ यसको सही सदुपयोग हुनुपर्ने सुझाव दिनुभयो । चामुण्डाबिन्द्रासैनी नगरपालिका पूर्व मेयर सूर्यबहादुर शाहीले अघिल्लो कार्यकालमा थालिएका कामहरुले अहिलेका जनप्रतिनिधिहरुलाई सहज बनाएको बताउनुभयो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले नगरपालिको चालु आर्थिक वर्ष २०८१८२मा बिनियोजित बजेट ५० करोड ७ लाख २७ हजार ६ सय ४४ मध्ये २९ दशमलव ७ प्रतिशत अर्थात १५ करोड १ लाख ५ हजार ४ सय ७१ रुपियाँ खर्च भएको जानकारी दिनुभयो । उहाँले नगरको विकासमा संघ सरकार र प्रदेश सरकारबाट सहयोग बढाउन आग्रह गर्नुभयो ।

पालिका स्थापना दिवस कार्यक्रममा स्थानीय हुड्के नाँच, लोक भाका, गीत, मौलिक नृत्य लगायतका साहित्य सिर्जनाहरु प्रस्तूत गरिएको थियो । नगरपालिकाको प्रांगणमा औपचारिक कार्यक्रम वाहेक गाउँगाउँबाट आएका पञ्चे बाजाले पालिका स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताउनुभयो । नगरका काममा सहयाेग गर्नेहरूलाई सम्मान गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार