२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

११५ औँ अन्तरराष्ट्रिय महिला दिवस



काठमाण्डौं – ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ सन् २०२५ को ११५ औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । सरकारी निकाय, राजनीतिक दलका विभिन्न महिला संगठन, अधिकारका सवालमा कार्यक्रम गरिरहेका नागरिक समाज संस्थाहरुहरुले विभिन्न क्रियाकलाप गरी भव्यताका साथ दिवस मनाएका छन् ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने, उचित सम्मान गर्ने लगायतका क्रियाकलाप गरी दिवस मनाइएको छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने राज्यले ल्याएका नीति तथा कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन सवालमा अन्तर्राष्ट्रिय महिला दिवसका क्रियाकलापहरुले पैरबी गरेका थिए ।

समाजमा रहेका कुरीति, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा रोकथामका लागि सार्थक पहल गरिनुपर्ने भनी राज्यको ध्यानाकर्षण गरिएका थिए । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्न नसकिएको अधिकारकर्मीहरुले आक्रोस पोखेको पाइन्छ ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, समान कामको समान ज्याला पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संयुक्त राष्ट्र संघले सन् १९१० मार्च ८ तारिकमा अन्तरराष्ट्रिय महिला दिवस मनाउने घोषणा गरे यता हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार