२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

रगत चाहिनेहरुले रत्तदान गर्न उत्प्रेरणा जरुरी



दैलेख – नेपाल स्वयमसेवी रक्तदाता समाजको केन्द्रीय समितिको आठौं बैठक दैलेखको दुल्लूमा शनिबार समसामयिक विषयमा निष्कर्ष निकाल्दै सम्पन्न भएको छ । जुन महिनाको १४ तारिक तदनुसार २०८२ जेठ ३१ गते मनाइने विश्व रक्तदाता दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख किर्तिखम्ब रहेको थुप्रै ऐतिहासिक पृष्ठभूमी रहेको दुल्लूमा बैठकको प्रवन्ध गरेकोमा नेपाल स्वयमसेवी रक्तदाता समाजको दैलेख शाखा र सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिएको छ ।

वैठक सञ्चालनको लागि दुल्लूमा आवास तथा खानाको प्रवन्ध गर्ने दुल्लू नगरपालिका, थप सहयोगी भूमिका निर्वाह गर्ने गुराँस गाउँपालिका, पृष्ठपोषण र समन्वय निम्ति दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई बैठकले धन्यवाद दिएको बताइएको छ ।

चोटपटक, दुर्घटना वा विभिन्न रोगका कारण मानिसलाई आवश्यक पर्ने रगतको आपूर्ति गर्न गरिने रक्तदानलाई सहज बनाउन विरामीका आफन्तहरुले रक्तदान गर्ने संस्कार बसाउन उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको केन्द्रीय काेषाध्यक्ष प्रमिला लामाले जानकारी दिनुभयो ।

स्वयमसेवी रक्तदाताहरुको संख्या बढाउन १८ वर्ष नाघेका युवापङ्तिलाई उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरुलाई आह्वान गर्ने, विभिन्न विपद तथा दुर्घटनाको बेला रगतको अभाव हुन नदिन सधैं तत्परता रहन सरोकारवालाहरुमा सचेतना फैलाउने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी हुनु अघि नेपाल स्वयमसेवी रक्तदाता समाजको दैलेख शाखाले शुक्रबार दैलेख सदरमुकाममा केन्द्रीय समितिलाई स्वागत तथा सरोकारवालाबीच छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष कर्माचार्यले स्वस्थ रगत पूर्ति गर्न रक्तदान सहज बनाउन सरोकारवालाहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

त्यस बखत दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बिरामी वा विपदमा परेकाहरुलाई रगत सञ्चार गराउन रगतको विकल्प तयार नभएकोले स्वयमसेवी रक्तदाताहरुको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारी निकाय र सुरक्षा संयन्त्रहरु सधैं सहयोगी रहेको चर्चा गर्नुभयो ।

दुल्लूमा बैठक सञ्चालन अघि दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय समितिका अध्यक्ष कर्माचार्य लगायत पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा अभिनन्दन गर्दै दुल्लूस्थित किर्तिखम्ब र ऐतिहासिक महत्वबारे व्याख्या गर्नुभयो ।

रक्तदानमा सर्वसाधारण समेतलाई उत्प्रेरित गर्ने उद्देश्यले २०६२ माघ १५ गते नेपाल स्वयमसेवी रक्तदाता समाज नामको संस्था स्थापना भएको छ । नेपालमा सबै भन्दा धेरै १८१ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्य समाजको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । हालसम्म ३८ वटा जिल्ला शाखा छन् ।

प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार