२०८१ चैत ३० , शनिबार (2025 Apr 12, Saturday)

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम



दैलेख – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरका दैलेखमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज, दैलेख अस्पताल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रजातन्त्र दिवस मूल समारोह समितिले दैलेख सदरमुकामको नारायण बहुमुखी क्याम्पसमा बिहीबार रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम गरिएको हो ।

चोट पटक लाग्दा, गर्भवती तथा सुत्केरी वा रोकव्याधले रगतको कमी भएकाहरुलाई रक्त सञ्चार गरी ज्यान जोगाउन सकिने विधि बारे जानकारी दिंदै स्वस्थ व्यक्तिले रगत दिने सक्ने अवस्था र परोपकारी मानवता बारे नेपाल स्वयमसेवी रक्तदाता समाज दैलेखका अध्यक्ष पत्रकार अमर सुनारले अभिमुखीकरण गराउनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्वयमसेवी रक्तदाताहरु प्रकाशकुमार बुढा, प्रभाकुमार बिक, नेपाल पत्रकार महासंघका सदस्यहरु रामकृष्ण कठायत, कृष्णकमल अधिकारी, नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपसभापति यामराज कटुवाल, नारायण बहुमुखी क्याम्पस स्ववियू सभापति हेमराज बस्नेत समेतको उपस्थिति थियो ।

रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्दै नारायण क्याम्पसका प्रमुख नरबहादुर शाहीले रक्तदानले जीवन बचाउन सकिने भएकोले यस्तो पुण्य काममा सबैले अग्रसरता जनाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले स्वयमसेवी रक्तदाताहरुलाई कृतज्ञता व्यक्त गर्नुभयो ।

दैलेख अस्पताललाई तत्काल आश्यकता परेको ५ पैण्ट रगत संकलन गरिएको र आवश्यकता पर्दा खोजी गर्न सहजताका लागि ५० जनाको रगत समूह पहिचान गरी प्रमाणपत्र दिइएको दैलेख अस्पतालका ल्याव टेक्निसियन टकबहादुर भण्डारीले जानकारी दिनुभयो । दैलेख अस्पतामा २०६० सालदेखि रक्त सञ्चार केन्द्र सञ्चालनमा छ ।

नारायण क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाही, उपप्राध्यापक गुणनिधि आचार्य, शिक्षण सहायक पिताम्बर खड्का, नारायण क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हेमराज बस्नेत र स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य पुष्पकमल अधिकारी समेत पाँच जनाले रक्तदान गर्नुभएको थियो । हाललाई थोरै रगत आवश्यक परेको कारण पाँच जनाको मात्र रगत संकलन गरिएको ल्याव टेक्निसियन भण्डारीले बताउनुभयो ।

नेपालको परिप्रेक्षमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलोग्राम भन्दा बढी शारीरिक तौल भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । गर्भवती, बच्चा जन्मेको २ वर्ष र महिनावारी भएको ७ दिनम्म दिनुहुदैन । जण्डिस, मलेरिया, टाईफाइड, एड्स, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दमका रोगीहरूले रक्तदान गर्न मिल्दैन ।

प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार