२०८३ कात्तिक १३ , बिहीबार (2026 Oct 29, Thursday)

साँसद रानाद्वारा बालबालिकाका समस्या बारे सरकारको ध्यानाकर्षण



काठमाण्डौं – प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले रोजगारीका लागि अभिभावक मुग्लान जानुपर्दा बालबालिका गलत बाटोमा लागिरहेका र दैलेखको पश्चिम क्षेत्रमा विकृत तनाव भनिने स्वास्थ्य समस्याले विद्यालयको अध्ययन-अध्यापन प्रभावित भएको भन्दै ध्यानाकर्षण गराउनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा समस्या दर्शाउनुभएकाे हाे ।

दुई जना किशोरहरुले ११ वर्षीय बालकको हत्या गरेका घटना उदृत गर्दै उहाँले संसदमा भन्नुभयो ‘रोजगारीका लागि अभिभावक मुग्लान जानुपर्दा बालबालिका गलत बाटोमा लागिरहेका छन्, परिवार विखण्डनमा परेका थुप्रै घटना छन् । स्वदेशमा रोजगारी सिर्जना गर्न नसके अझैं विकराल सामाजिक समस्या पैंदा हुने अवस्था छ, सरकारले यसमा ध्यान दिओस् ।’

भारतमा मजदूरी गर्न गएका बाबुआमाले घरमा एक्लै छोडेका दैलेखको दुल्लू नगरपालिका–५ रिजुपोखराका १७ वर्षका एक र १४ वर्षका अर्को सते एकै घरका दुई भाईले आफूसंगै चोरीको धन्दामा प्रयोग गर्ने गरेका अर्को बालकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको संसदमा साँसद रानामगरले दृष्टान्त सुनाउनुभयो ।

साँसद रानामगरले दैलेखको पश्चिम क्षेत्रका आठबीस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरबी गाउपालिका क्षेत्रका केही विद्यालयमा विकृत तनाव भनिने मानसिक स्वास्थ्य समस्या फैलिएकोले समाधान गर्न स्वास्थ्यकर्मी र मनोविद् तथा मनोचिकित्सकहरुको परिचालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि किशोरीहरुमा मात्र देखिने गरेको विकृत तनावले दैलेखमा दुई सातादेखि धेरै किशोरी र केही थोरै किशोरहरु समेत बेहोस् हुने समस्याले विद्यालयको पढाई प्रभावित हुने गरेको छ । शैक्षिक सत्रको अन्तिम समय र वार्षिक परीक्षा सुरु हुने बेला विकृत तनावले विद्यालयको अध्ययन अध्यापन कार्य प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८१ फागुन ६ गते मंगलबार