
दैलेख – कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमालले न्याय सम्पादनका काममा सक्षम जनशक्तिको खाँचो भएको बताउनुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले साेमबार दैलेखमा आयोजना गरेको लिखित जवाफ एवम् कानून सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
विषयको राम्रो ज्ञान भएको जनशक्ति भएमा कार्य सम्पादनमा सरल र सहज हुने बताउदै नागरिकहरुले प्रत्यक्ष सेवा लिने वडा कार्यालय, प्रहरी–प्रशासन लगायतका निकायले दिने सेवा र व्यवहारले राज्यको व्यवहार झल्किने भएकोले त्यहाँ पनि सुधारको आवश्यकता दर्शाउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले न्याय प्रणाली प्रक्रियामुखी भएको कारण जटिलता पैदा गरेको औल्याउनुभयो । ‘२८ हजार रुपैंयाँ ठगिएको घटना आफू ठाडो निवेदन ल्याएका व्यक्तिलाई सोध्दा वकीलले दुई हजार लिएको थाहा पाएँ’ उहाँले सुनाउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा दिने निवेदनमा १० रुपैंयाँकाे टिकट व्यापारीहरूले १५–२० रुपैंयाँ लिने गरेको गुनासो आएपछि आफूले कार्यालयकै कर्मचारी खटाएर १० रुपैंयाँमा उपलब्ध गराउने प्रवन्ध गरेको सुनाउदै कार्यशैलीलाई सुधार गर्दै जानसके नागरिकलाई सुविधा हुने प्रमुख जिल्ला अधिकारी जैसीले बताउनुभयो ।
त्यसबखत नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारले भन्नुभयो ‘कानूनको अज्ञानता क्षम्य हुन्न भन्ने कानूनी सिद्धान्त छ । सर्वसाधारण कानून बारे थाहा पाएका छैनन्, थाहा पाएकाले कानून मिच्ने गरेका छन् ।’ अध्यक्ष सुनारले जनस्तरसम्म कानूनी शिक्षा अभियान ग्रामीण बस्तीहरुसम्म पु¥याउन आवश्यकता दर्शाउनुभयाे ।
सहायक मुख्य न्यायाधिवक्ता भीमराज गौली, जिल्ला सरकारी वकील कार्यालयका प्रमुख द्रोणदत्त पौडेल, दैलेख अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्ल, दैलेखका प्रमुख इञ्चार्ज सुनिल दाहाल, नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललिल थापा लगायतका अधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमाल र उपन्यायाधिवक्ता रत्नप्रकाश गिरीले लिखित जवाफ एवम् कानून प्रवन्ध विषयमा सहजीकरण गर्नुभएको प्रशिक्षण कार्यक्रममा दैलेख जिल्लास्थित प्रदेश कार्यालयका प्रमुख र न्यायिक सरोकारका कर्मचारीहरुको सहभागिता थियो ।
साेमबार नै मुख्य न्यायाधिवक्ता हमालले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नुभयो । उहाँले अनुगमन तथा निरीक्षणको क्रममा अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको समस्या, चुनौती बारेमा जानकारी लिई शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभयो ।
त्यस लगतै मुख्य न्यायाधिवक्ता हमालले दैलेख कारागारको समेत अनुगमन तथा निरीक्षण गर्नु भई दैलेख कारागारमा रहेका महिला र पुरुष कैदीबन्दीहरुसंग समूहगत रुपमा अन्तरक्रिया गर्नुभएको थियो । कैदीबन्दीहरुले प्रतिरक्षा वकीलको खर्च महंगो परेको, पुनरावेदन गर्न कठिनाई भोग्नु परेको र बसाई व्यवस्थापन साँघुरो रहेको समस्या दर्शाएका थिए ।
प्रतिक्रिया दिनुहोस्