२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

वन कार्यालयकाे नवनिर्मित भवनको उद्घाटन



दैलेख – डिभिजन वन कार्यालय दैलेखको नवनिर्मित भवनको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज उद्घाटन गर्नुभएको छ । दुई करोड ८० लाख ७१ हजार तीन सय ७८ रुपैंयाँको लागतमा भवन निर्माण भएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिनुभयो ।

कार्यालय प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा फाँटको अलवा वन मुद्दाको सुनुवाइ हुने इजलास, वन पैदावर र वन्यजन्तु चोरी, निकासी घटनाका आरोपितहरुलाई थुनामा राख्ने हिरासत कक्ष लगायतका शाखाहरु रहेको भवनमा शौचालय र स्थानगृह समेत १७ वटा काेठा रहेको बताइएको छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आधुनिक सुविधा युक्त भवनबाट नागरिकहरुलाई कार्यालयले दिने सेवाको गुणस्तर सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निर्धारित समय अगावै कार्यालय भवन निर्माण सम्पन्न गरेकोमा आरबी कन्स्ट्रसन दैलेखलाई कदरपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री कृष्णकुमार बीसीले आफू मन्त्री हुँदा सिल्यान्यास गरेको भवन समयमा निर्माण भएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले दैलेख पञ्चकोशी तीर्थस्थल भएकोले यसलाई पर्यटनको मुख्य बनाउन निजी क्षेत्रले बल गर्नुपर्ने सुझाव दिनुभयो । २०८० भदाै ७ गते उहाँले भवनकाे सिलान्यास गर्नुभएकाे थियाे ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण सचिव दीर्घनारायण कोइरालाले पनि बोल्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरुको सहभागिता थियो ।

तीन वर्षमा निमार्ण गर्ने भनिएको भवन निर्माण कम्पनी आरबी कन्स्ट्रसन दैलेखले डेढ वर्षमा कार्य सम्पन्न गरेको छ । करिव ५० वर्ष पुरानो साँघुरो भवनमा सञ्चालन भइरहेकोमा डिभिजन वन कार्यालय दैलेखको नयाँ कार्यालयमा सरेपछि कार्यालयका दैनिक कार्यसम्पादनमा सहज हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार