
चितवन – भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । भरतपुर महानगर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता उपलब्ध गराइएको हो ।
भरतपुर महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गएको आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकोमा चालू आर्थिक वर्षमा १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । अघिल्लो वर्ष ३३ जना शिक्षकलाई उक्त भत्ता सुविधा दिइएको थियो ।
आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । भरतपुर–२९ मा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक मावि र बाँकी आविका शिक्षकले सुविधा पाउने भएका हुन् ।
भरतपुर महानगरकी मेयर रेनु दाहालले ग्रामीण क्षेत्रमा पढाइरहेका शिक्षकलाई प्रोत्साहन स्वरूप भत्ता दिएको बताउनुभयो । यो सुविधाले शैक्षिक गुणस्तरमा पनि सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि समाधान हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्