२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

राबा बैंक वार्षिकोत्सव : १३ सेवाग्राही सम्मानित



दैलेख – सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आज ६० औं वाषिकोत्सव मनाएको छ । दैलेख शाखाले दैलेख सदरमुकाममा आयोजना गरेको कार्यक्रममा १३ सेवाग्राहीलाई सम्मान गरेकाे छ । नियमित बचतकर्ताहरु लिलाराम कोइराला, देबेन्द्र थापा, रामबहादुर बुढा, प्रमिला थापा, शंकर श्रेष्ठ र कृतिदेवल सहकारीलाई सम्मान गरिएको थियो ।

बैंकको वाषिकोत्सवको अवसरमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडसंग कारोबार गरेका समयमा किस्ता तिर्ने असल ऋणीहरु श्रेष्ठ भाँडा पसल, मधुवन फर्निचर उद्योग, शर्मा किराना पसल, एलिजा स्टोर, शान्ति स्टोर्स, उदय इन्टरप्राइजेज, एनके होटललाई सम्मान गरेको शाखा सहायक प्रवन्धक मीना शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बैंकहरु डिजिटल प्रणालीमा गएदेखि प्रविधिको दुरुपयोगबाट ठगी बढेकोले सुरक्षा चुनौती थपिएको बताउनुभयो । सुरक्षा सजगता र उद्यमशीलतामा लगानी बढाउन राष्ट्रिय बाणिज्य बैंक र अरु बैंकहरुले पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड दैलेख शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तिहरु शान्ति शर्मा, देबेन्द्र थापा, दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बैंकका पूर्व प्रबन्धक केसेन्द्र कार्की लगायतले बैंकिङ्ग प्रणाली बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार