२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

दशैंलाई सौहार्द बनाउन जरुरी : साँसद मल्ल



दैलेख – राष्ट्रियसभाका साँसद सावित्री मल्लले दशैंको उल्लासलाई सौहार्द र भाईचारा अभिवृद्धि गराउन प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैरसरकारी संस्था महासंघ जिल्ला शाखाले दैलेखबजार आयोजना गरेको बडादशैं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले दशैंतिहारको बेला जुवातालले कैयौंको सम्पति नोक्सानी हुने गरेको, युवाहरु मदिरामा उन्मादमा अपराधिक घटना हुने गरेका, सामाजिक विचलन आएकोले यसको रोकथाममा समुदायका अगुवाले भूमिका खेल्नुपर्ने औंल्याउनुभयो ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माले शान्ति प्रवद्र्धनमा नागरिक समाजको पनि भूमिका हुने बताउनुभयो । त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दशैं सुरक्षा प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालन गरिएको र अपराध रोकथामका लागि समयमा सूचनाको लागि आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासंघ दैलेख शाखाका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले समुदायका दशैंतिहार शान्त बनाउन सहकार्य अभिवृद्धिकै लागि बडादशैं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नागरिक समाजका अगुवाहरुको पनि शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार