२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

बिरोध गर्नेहरु टुक्रे योजना चलाउँछन् : शाही



दैलेख – नेपाली काँग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता पूर्व मुख्यमन्त्री जीवन शाहीले प्रदेश सरकारले टुक्रे योजना सञ्चालन गरिरहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । प्रेस यूनियनले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो ‘पहिले १५ लाख भन्दा साना योजना चल्नुहुन्न भन्ने व्यक्ति आफै टुक्रे योजना चलाइरहेका छन् ।’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको नाम नलिइकनै शाहीले भन्नुभयो ‘हिजो १५ लाख भन्दा साना योजना चलाउनुहुन्न भनेर संसद अवरुद्ध गर्ने व्यक्ति आज जिम्मेवारीमा आउँदा यो कुर्चीमा गाह्रो रैछ भनेर टारिरहेका छन्, अहिले आफैले त्यस्तै टुक्रे योजना चलाइरहेका छन् ।’ उहाँले भन्नुभयो ‘आफू भएको बेला खुसुखुसु गरिरहने यो राम्रो भएन ।’

पूर्व मुख्यमन्त्री शाहीले पहुँचका आधारमा योजना पाउने र पाएको योजनाहरु सदुपयोग नहुने यो समस्या निराकरण गर्न सबैले इमान्दार भएर सुशासन र जवाफदेहिताको पैरबी गर्नुपर्छ । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै उहाँले दैलेखमा माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकार र संघीय बजेट बढाउन दवाव बढाउनपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल प्रेस यूनियन दैलेखका जिल्ला सभापति अभिशेक अनुरागको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सीताकुमारी राना, जलश्रोत तथा ऊर्जा मन्त्री बिजया बुढा, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, जिल्ला सभापति मणिराम रेग्मी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार