२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

हिंसा प्रभावितहरुका लागि अधिकार प्रवर्द्धन तालिम



दैलेख – सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले दैलेखको डुंगेश्वर र भगवतीमाई गाउँपालिका सञ्चालन गरेको ‘लैंगिक समता तथा सामाजिक समावेशीकरणमा युवा नेतृत्व’ परियोजनाले लैंगिक हिंसा पीडितहरूका लागि याैन तथा लैंगिक हिंसा राेकथाम, कानूनी प्रक्रिया र याैन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने तालिम दिएको छ ।

युरोपियन यूनियन र अक्फामको सहयोगमा सञ्चालित युवाहरुका लागि लैंगिक समता तथा सामाजिक समावेशीकरण परियोजनाले सञ्चालन गरेको लैगिक हिंसा पीडितहरुका लागि महिला अधिकार प्रजनन स्वास्थ्य र कानूनी सेवा प्रवर्द्धन काममा सरोकारवालावीचको प्रभावकारी समन्वय तथा सहकार्य तालिम केन्द्रित रहेको थियो ।

सवालमा बुझाई एकरूपता, महिला अधिकार क्षेत्रमा काम गरिरहेका सरकारका निकाय र नागरिक समाज संस्थाहरुवीचको सहकार्य, न्याय र पैरबीका विषयमा मुख्य सहजकर्ता बिष्णु नेपाली, जिल्ला सरकारी वकिल कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता नृपराज खड्का, अधिकारकर्मी पत्रकार अमर सुनार लगायतले तालिममा सहजीकरण गर्नुभएको थियो ।

त्यस अवसरमा भगवतीमाई गाउँपालिका उपाध्यक्ष मीना खड्का, डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्याैपाने, साेसेककाे सेफ हाउसकी रमा श्रेष्ठ, प्रहरीकाे महिला तथा बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षका गीता रम्तेलले पनि महिला अधिकारका विभिन्न पक्ष र पीडितकाे न्यायमा पहुँच विषयमा प्रकाश पार्नुभएकाे थियाे ।

दैलेखको डुंगेश्वरका महिला शाखा प्रमुख तेजु रेग्मी, भगवतीमाई गाउँपालिकाका महिला शाखा प्रमुख सरस्वती पाैडेल, ती पालिका स्वास्थ्य संस्थाका प्रतिनिधि, लैंगिक हिंसा पीडित महिला समेत गरी २६ जनाकाे सहभागिता रहेकाे तालिममा पीडितले भाेगिरहेकाे समस्या र समाधान प्रयास विषयमा छलफल भएकाे थियाे ।

पीडितहरुका लागि कानूनी व्यवस्था, न्यायका प्राप्तीका विकल्पहरु, पीडितहरुको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारका लागि सरकारी निकाय र नागरिक समाजको श्रोत परिचालन, सहकार्य र समन्वयको प्रभावकारिता बढाउने सराेकारवालाहरूले बचनवद्धता जनाएका परियाेजनाका जेसी अधिकृत चुणामणी रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार