२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

वित्तीय सुशासन खबरदारी जरूरी : काेइराला



दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले देशमा वित्तीय सुशासन निम्ति आमसञ्चार माध्यमले खबरदारी अझैं बढाउन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला दैलेखले बुधबार दैलेखमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा उक्त विचार राख्नुभएको हो ।

‘देश विकासका प्रमुख वाधक भ्रष्टाचार रहेकोले यसलाई थितिमा ल्याउन वित्तीय सुशासन सुदृढ बनाउन सबै क्षेत्रको तत्परता जरुरी छ । मिडियाले अझैं खबरदारी बढाउन आवश्यक छ’ उहाँले भन्नुभयो । मिडियाले भोगिरहेका समस्या समाधान गर्न आफू सधैं सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले विधिको शासन पालना गराउन आम सञ्चार माध्यमले पहल गर्नुपर्ने औल्याउदै त्यसका लागि नेपाल पत्रकार महासंघले नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो । डिभिजनल वन अधिकृत राधाकृष्ण दासले मिडियाले समाज रूपान्तरणमा ठूलाे सहयाेग पुगेकाे बताउनुभयाे ।

त्यसबखत नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले डेकेन्द्र स्मृति भवन बनाउने निर्णयको स्वागत गर्दै कार्यान्वयनमा आफ्नो सहयोग रहने बताउनुभयो । नेपाल एमालेका जिल्ला उपसचिव मीनबहादुर बुढाले आम सञ्चार माध्यमले लेख्ने समाचार सामाग्रीमा निखारता आउन जरुरी रहेको औंल्याउनुभयो ।

नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, दैलेख बार एशोसियसनका जिल्ला अध्यक्ष ललित थापा, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक अनुराग, युवा अभियन्ता प्रकाश बुढा समेतले बोल्नुभएको थियो ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नविन रिजालले दैलेख शाखामा पाको र परिपक्व महासंघको नयाँ नेतृत्वले संस्थागत विकास र पत्रकारहरुको क्षमता विकासमा राम्रो काम गर्ने आशा जगाएको बताउनुभयो । महासंघको शाखा कार्यालय चलाउन डेकेन्द्र स्मृति भवन बनाउने निर्णय र सुझाव संकलन अन्तरक्रियाले पनि राम्रो सन्देश दिएको उहाँले चर्चा गर्नुभयो ।

त्यसबखत नेपाल पत्रकार महासंघका जिल्ला सचिव भीम सिजापतिले डेकेन्द्र स्मृति भवन बनाउन आफूले ५० हजार रुपैंयाँ नगद सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला दैलेखका अधयक्ष अमर सुनारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

त्यस लगतै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२४ अवधिमा संकलन गरेको मानव अधिकार वर्ष पुस्तक घटनाहरुको समीक्षा भयो । महासंघका जिल्ला अध्यक्ष एवं इन्सेक जिल्ला प्रतिनिधि सुनारले सन् २०२४ मा दैलेखमा ७५ वटा घटना अभिलेखीकरण भएका जानकारी दिनुभयो ।

अभिलेखीकरण भएको घटनामा बालिका बलात्कार १७, घरेलु हिंसा १६, बहुविवाह ८, कुटपिट अभद्र व्यवहार ८, महिला बलात्कार ६, व्यक्ति हत्या ५, बाल यौन दुव्र्यवहार ५, ज्यानमार्ने उद्योग ४, आत्महत्या दुरुत्साहन ३ र अथित बोक्सी आरोप १ घटना रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ पुस ३ गते बुधबार