२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

दैलेखमा उपनिर्वाचन  : ५४ प्रतिशत मत खस्यो



दैलेख – आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका १३ नं. वडाका वडाध्यक्ष पदको उपनिर्वाचनमा ५४ प्रतिशत भन्दा बढी मत खसिसकेको अधिकारीहरूले बताएका छन् ।

दिउँसो ३ बजेसम्मको अध्यावधिक विवरण अनुसार महाबु गाउँपालिकाका ६ वटै वडाका ९ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा ६ हजार आठ सय ३७ मत अर्थात ५४ दशमलव २० र दुल्लू नगरपालिका १३ का दुई स्थानका ४ मतदान केन्द्रमा एक हजार चार सय ७० मत अर्थात ५४ दशमलव ३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले जानकारी दिनुभयो ।

केही मतदाता लाइनमा बसेका र साँझ ५ बजेसम्म अझैं केही मतदाताहरु मतदान केन्द्रमा आउनसक्ने सम्भावना भएकोले ५५ प्रतिशत मतदाताहरुको मतदानमा सहभागिता हुने आफूले अनुमान गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । ‘६ हजार हाराहारी मात्र मत खस्लाकी भन्ने अनुमान थियो, बढी नै सहभागिता भयो’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार