दैलेख – मंसिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका क्षेत्र र दुल्लू नगरपालिका वडा नंं. १३ मालिकामा मतदाता नामावली भएका वाहेक घर राजनीतिक नेता र कार्यकर्ताहरुलाई हटाइने भएको छ । दैलेखमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
मौन समयमा पनि चुनावी प्रचार गर्ने, मतदातालाई प्रभावित पार्ने र अनावश्यक विवाद सिर्जना आउनसक्ने स्थिति भएकोले सुरक्षा संवेदनशीलतालाई हेरी शुक्रवार दैलेख सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकले निर्णय गरेको हो । निर्वाचन आचार सहिंताको पूणपालना, मौन समयको कार्यान्वयन सहयोग पुग्ने भएकोले वाहिरका व्यक्तिलाई आवागमन गर्न रोक लगाइएको मुख्य निर्वाचन अधिकृत पाण्डेले प्रष्ट्याउनुभयो ।
‘निर्वाचन हुने क्षेत्रमा मौन समय कडाई साथ पालना गर्न लगाउने, राजनीतिक दल र उम्मेदवारले मतदाताहरुलाई प्रभाव, दवावमा नदिने र वाहिरका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाइनेछ’ भनी सर्वपक्षीय वैठकले निर्णय गरेको छ ।
निर्वाचन शान्त र मर्यादित सहयोग पुग्ने भएकोले वाहिर घर भएका राजनीतिक नेतृत्व र कार्यकर्ताहरुलाई महाबु गाउँपालिका र दुल्लू नगरपालिका–१३ क्षेत्रमा नजाने कुरा आफूहरुले पनि सहमती जनाएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले बताउनुभयो ।
अरु विकासका कामहरुमा पनि दैलेखमा राजनीतिक दलहरुबीच राम्रो समझदारी रहेको र मुख्य विर्वाचन अधिकृतको कार्यालयबाट अनुरोध आएपछि वाहिरका व्यक्ति निर्वाचन हुने क्षेत्रमा नजाने कुरामा सबै दलहरुको समझदारी बनेको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले सुनाउनुभयो ।
निर्वाचन आयोगको उपनिर्वाचन तालिका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदान हुदैछ । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचितहरुको निधनपछि रिक्त स्थानमा मतदान हुन लागेको हो ।
महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो । त्यसैगरी एमालेबाट निर्वाचित दुल्लू नगरपालिका–१३ वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।
निर्वाचनको तयारी पूरा
महाबु गाउँपालिका अध्यक्ष पदका लागि मतदान गराउन ९ स्थानमा १६ वटा मतदान केन्द्र र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदानमा दुई वटा मतदान स्थलमा चार वटा मतदान केन्द्र हुनेछन् । महाबु गाउँपालिकाभर कुल १२ हजार छ सय १४ मतदाता छन् । त्यसैगरी दुल्लू नगरपालिका–१३ मा चाहिँ दुई हजार दुई सय २४ जना मतदाता छन् ।
मंसिर १३ गते अनुशिक्षण दिई ११ मतदान स्थलमा हुने २० वटा मतदान केन्द्रका लागिआवश्यक पर्ने ५३ प्रकारका सामग्री सहित २० जना मतदान अधिकृतहरुलाई उपलब्ध गराइएको जिल्ला निर्वाचन कार्याल दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्