२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

भैरबीमा सामुदायिक बीऊ बैंक स्थापना



दैलेख – उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले भैरबी सामुदायिक बीऊ बैंक स्थापना गरेको छ । भैरबी गाउँपालिका–७ भाटिचौरमा आज शनिबार आयोजित एक औपचारिक कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष रीताकुमारी शाहीले उक्त बीऊ बैंकको उद्घाटन गर्नुभयो ।

बीऊ बैंक उद्घाटनसंगै उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा समेतको उद्घाटन गर्दै कृषकहरुको लगनशीलता बढाउदै गरेमा गाउँपालिकाले गर्न सहयोग र सहकार्य पनि बढ्ने उहाँले बताउनुभयो ।

‘सहकारीको माध्यमबाट हरेक किसानलाई उन्नत खेतीमा सक्रियता बढाएकोले नै यो सहकारीले गरेका सबै कार्यक्रमहरुमा समय दिने गरेको छु’ अध्यक्ष शाहीले भन्नुभयो । किसानले गरेको कृषि उत्पादनहरुलाई बजारको सहज पहुँच अभिबृद्धिमा गाउँपालिकाले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भूजले किसानहरुलाई सामूहिक रुपमा उत्प्रेरिता गराउन उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले खेलेको भूमिका प्रशंसा गर्नुभयो । उहाँले उत्पादन बृद्धिका गर्न उन्नत बीऊ–मल र आधुनिक खेती प्रविधिको प्रसार गर्न आग्रह गर्नुभयो ।

त्यसबखत जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भूपेन्द्र खड्काले सहकारी संस्थाहरुको हिसावकिताव पारदर्शी भएको र सेयर सदस्यहरुको सक्रियताले यो सहकारीले आर्थिक रुपमा विपन्नहरुको जीवनस्तर उठाउन सहयोग पुगेको आफूले पाएको बताउनुभयो ।

कार्यक्रममा उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष झमलाल पौडेलले संस्थागत विकास क्रमको व्याख्या गर्दै १३ सय ३ जनाको सेयर सदस्यहरुको संख्या आगामी वर्ष १५ सय पु¥याउने र सेयर पूजी एक करोड १० लाख पु¥याउन लक्ष्य रहेको कार्ययोजना प्रस्तूत गर्नुभयो ।

सो अबसरमा सहकारीका प्रवन्धक गीता आचार्यले अघिल्लो वर्ष ४ करोड ५७ लाख ५ हजार ६ सय ४१ ऋण लगानी भएको, संस्थाले ४ करोड ९७ लाख ९५ हजार ५ सय ९ रुपैंयाँ कारोबार र १२ लाख ५० हजार ४ सय ८५ रुपैंयाँ खुद नाफा कमाएको आर्थिक प्रतिवेदन प्रस्तूत गर्नुभयो ।

आज शनिबार स्थापना गरेको भैरबी सामुदायिक बीऊ बैंकले १७ किसिमका अन्नबाली र तरकारीका बीऊ उत्पादन, खरिद तथा बिक्री गर्ने गरी सुरु भएको सहकारीका उपाध्यक्ष रामकृष्ण कठायतले जानकारी दिनुभयो । यस अघि भगवतीमाई गाउँपालिका–४ मनघरमा पनि सामुदायिक बीउ बैंक स्थापना गरिएको थियो ।

भगवतीमाई गाउँपालिकामा हातेमालो सामुदायिक विकास संस्थाले कृषि सम्बन्धी परियोजना अन्तरगत सामुदायिक बीऊ बैंक स्थापना गरिएको हो भने भैरबीमा हातेमालो सामुदायिक विकास संस्थाको सहयोगमा उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको हो ।

साधारणसभाले नीति कार्यक्रम, कार्ययोजना, प्रस्तावित कार्यक्रमहरु, खर्च पारित गर्नुसंगै संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, ऋण प्रतिवेदन अनुमोदन गरेको उज्यालो साना किसान कृषि सहकारी संस्था लिमिटेडका सहप्रवन्धक दिलबहादुर गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रममा राजनीतिक दल, सञ्चारकर्मी र सहकारीका सेयर सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार