२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

फूल खेतीबाट एक लाख बढी आमदानी



दैलेख – तिहारमा फूल बेचेको पहिलो अनुभवमा दैलेखको सिस्नेटारका कृषक देबेन्द्र गोदार खुशी हुनुभएको छ । ‘तीन रोपनी लगाएको सयपत्री फूल करिब पाँच क्वीण्टल जति टिपियाे, त्यसबाट एक लाख भन्दा बढी आम्दानी भयो खुशी नै छु’ उहाँले भन्नुभयो । केही बाँकी छ, उत्सव कार्यक्रमहरूमा बिक्री हाेला गाेदारले अपेक्षा गर्नुभएकाे छ ।

‘पहिलो पटक फूल खेती लगाएकोमा शुभेच्छुक र मिडियाले पनि राम्रै प्रचार गरिदिएर व्यापारमा राम्रै भयो । भारतीय बजारबाट आउने प्लाष्टिकको माला सरकारले प्रतिबन्द लगाए पनि त्यहाँबाट निर्वाद खुला रूपमा आएको फूलसंग प्रतिस्पर्धा गरेर यत्ति व्यापार हुनु सन्तोष नै मान्नुपर्छ’ गोदारले भन्नुभयो ।

‘तरकारीले पनि त्यति नै आउथ्यो होला, कस्तो हुन्छ ? हेरौं भनेर पहिलो पटक गरेको फूल खेतीको व्यापारले हौसला र व्यापार रणनीति समेत सिकाएको उहाँले बताउनुभयो । फूलको आवश्यकता सधैं जस्तो हुने देखियो, जहिले पनि फूल पाइने गरी सानो क्षेत्रमा फूल खेती गरिरहने सोचेको छु’ गोदारले योजना सुनाउनुभयो ।

‘एक लगनशील कृषकको पहिचान बनाएको व्यक्ति भएकोले उहाँकाे फूल खेतीको पहिल्यै चर्चा भयो, व्यापार पनि ठिकठिकै भएछ’ प्रेस सेण्टर दैलेखका अध्यक्ष रामकृष्ण कठायतले भन्नुभयो । दैलेख–सुर्खेत राजमार्गसंग जोडिएको डुंगेश्वर गाउँपालिका–६ सिस्नेटारमा गोदारले ९ वर्षदेखि करिव ३२ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १८ गते आइतबार