२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

मालिका स्वास्थ्य चौकी अल्ट्रासाउण्ड सेवा !



दैलेख – दुल्लू नगरपालिका वडा नं –१३ स्थित मालिका स्वास्थ्य चौकीमा निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमबीच नगर प्रमुख भरतप्रसाद रिजालले उद्घाटन गर्नुभयो । १ सेट भिडियो एक्सरे मेसिनसंगै आवश्यक दक्ष जनशक्ति र सामाग्री दिइएको छ ।

सेवा सुरु भएको पहिलो दिन मंगलबार २४ जना गर्भवती महिलाहरुको निःशुल्क अल्ट्रासाउण्ड गरिएको थियाे । अल्ट्रासाउण्डको मद्दतबाट गर्भवतीको स्वास्थ्यको चेकजाँच गर्दा आमाकाे पेटभित्रको बच्चाको अवस्था जानकारी हुन्छ आवश्यक स्वास्थ्य सल्लाह दिन र सजग रहन सहयाेग पुग्ने नमी लक्ष्मी भण्डारीले बताउनुभयो ।

अल्ट्रासाउण्डले गर्भवतीकाे महिलालाइ गर्भावस्थाकाे जानकारी दिने र सतर्कताका बिषयमा समेत जानकारी दिने गरिएको मालिका स्वास्थ्य चाैकीका इञ्चार्ज नरेन्द्र सापकाेटाले बताउनुभयाे । स्वास्थ्य अवस्थाका जटिल भए सुविधायुक्त अस्पतालमा रिफर गरी  मातृ तथा शिशु मृत्युलाई शून्यमा झार्न सहयाेग पुग्ने उहाँकाे भनाइ छ ।

दुल्लु नगरपालिकाका प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार नगरकाे विकट मानिने मालिका स्वास्थ्य चौकीमा नगरपालिकामै पहिलाे ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य इकाइका सहसंयोजक हिमाल आचार्य जानकारी दिनुभयो ।

अघिल्लो वर्ष दुल्लु अस्पतालको प्राबिधिकको सहयोगमा दुल्लु नगरपालिकाले विभिन्न बस्तीहरुमा चलाइएका क्लिनिकबाट निःशुल्क अल्ट्रासाउण्ड सेवा दिइएको र आगामी दिनमा पनि त्यस्ता क्लिनिक चलाउने योजना रहेको दुल्लू नगरपालिकाका स्वास्थ्य शाखा इञ्चार्ज जनस्वास्थ्य निरीक्षक बिष्णुबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार