२०८३ असार १ , सोमबार (2026 Jun 15, Monday)
रातानाङ्लामा दुर्घटना

भैरबी गापाले मृतकका परिवारजनलाई ५० हजार दिने



दैलेख – सुर्खेतको रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका चारै जनाका परिवारजनलाई दैलेखको भैरबी गाउँपालिकाले ५० हजारका दरले राहत सहयोग गर्ने भएको छ । त्यो दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च वापत उक्त रकम दिन लागिएको गाउँपालिका उपाध्यक्ष देबी भण्डारीले बताउनुभयो ।

भैरबी गाउँपालिकाका कार्यवाहक अध्यक्षको समेत जिम्मेबारीमा रहनुभएकी उपाध्यक्ष भण्डारीको अध्यक्षता आइतबार बसेको कार्यपालिका बैठकले कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुघटनामा चालक सहित ज्यान गुमाएका चारै जनाको परिवारलाई प्रति परिवार ५० हजारका दरले किरिया खर्च दिने औपचारिक निर्णय गरेको बताइएको छ ।

कार्यपालिका बैठकले राहत सहयोग दिने निर्णय मृतकहरुको आत्माको चीरशान्तिको कामनासंगै मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्ने शोक प्रस्ताव पारित गरेको गाउँपालिकाले प्रकाशित गरेको शोक व्यक्तव्यमा जनाइएको छ ।

सुर्खेतको रातानाङ्लामा शनिबार भएको दुर्घटनामा दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी भन्ने सुर्यबहादुर खत्री, भैरबी गाउँपालिका–२ रावतकोटका तीन जना ३६ वर्षीय कर्णबहादुर विष्ट, १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको ज्यान गएको थियो । दुर्घटनामा ३१ जना घाइते भएका थिए । दुर्घटना लगतै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका अधिकाँश घाइतेकाे उपचार चलिरहेकाे छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार