दैलेख – सुर्खेत–दैलेख सडक खण्ड बीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा शुक्रबार चार जनाको ज्यान गएको र ३१ जना घाइते हुने गरी भएको दुर्घटनाको बिरुद्ध मृतक र घाइतेका आफन्तहरुले प्रदेश राजधानी सुर्खेतमा बिरोध प्रदर्शन गरेका छन् ।
दुर्घटनामा मृतक र घाइतेका आफन्तहरुले शनिबार कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरमा गरिएको बिरोध प्रदर्शनमा चेकजाँचमा लापरवाही गर्ने प्रहरी–प्रशासनलाई कारवाही गनुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार गनुपर्ने लगायतमा विभिन्न मागहरू राखेर प्रदर्शन गरेका हुन् ।
क्षमता भन्दा दोब्बर बढी यात्रु बोकेको कारण गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्रबीर बिश्वकर्माले बताउनुभयो ।
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३९ वर्षीय सुरेश केसी भन्ने सूर्यबहादुर खत्री, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको ज्यान गएको थियो ।
सुर्खेत–दैलेख सडकको ६५ किलोमीटर दूरीमा ठालुडाँडा, चुप्रा, माथिल्लो डुंगेश्वर, घोडाबास, रानीमत्ता र छेडा समेत हरेक १० किलोमीटरमा ६ स्थानमा प्रहरी इकाईहरु भएर चेकजाँचमा चासो नदिएको कारण दुर्घटना भएको भन्दै पीडित परिवार र आमसर्वसाधारणले प्रहरी–प्रशासनको आलोचना गरेका छन् ।
सुर्खेतमा भइरहेको प्रदर्शन बारे सुर्खेत निमित्त प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलको ध्यानाकर्षण गराउदा उहाँले भन्नुभयो ‘घटना दुखद हो, पीडित परिवारजनले बिरोध गर्न स्वभाविक भएको र उहाँका जायज मागहरु पूरा गर्ने र चेकजाँच प्रणालीलाई सुधार गर्छौं । छलफलबाट समाधान खाज्छौं।’
प्रतिक्रिया दिनुहोस्