काठमाण्डौं – निम्सदाइ फाउन्डेसनले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा ज्यान गुमाएका पर्वतीय गाइडहरूको परिवारलाई सहयोग गर्न ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ स्थापना गरेको घोषणा गरेको छ । निर्मल पुर्जा लगायत दुर्घटनामा ज्यान गुमाएका गाइडका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन राहत कोष स्थापना गरिएको हाे ।
पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमालमा साउन १४ गते (जुलाई ३० तारिख) बिहान क्याम्प–२ र क्याम्प–३ बीच हिमपहिरो जाँदा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना पर्वतारोही तथा गाइड बेपत्ता भएका थिए । केही दिनको खोजीपछि सबै १० जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा, नीमा शेर्पा, ग्यालु शेर्पा, पुरबहादुर गुरुङ, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी तथा अमेरिकाकी म्यालोरी गाइस रहेका छन् ।
फाउन्डेसनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत हिमाल आरोहणमा खटिने प्रत्येक गाइड र टोली सदस्यको पछाडि उनीहरूमाथि आश्रित परिवार रहेको उल्लेख गर्दै अहिले ती परिवारले अकल्पनीय पीडा र हृदयविदारक अवस्था भोगिरहेको जनाएको छ । ठूला पर्वतारोहण दुर्घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्न पर्वतारोहण प्रेमी, सहयोगी तथा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल गरेको छ ।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)ले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले यसअघि ७ वर्ष १० महिना ६ दिनको रहेको कीर्तिमानलाई तोड्नुभएको थियो ।
पर्वतारोहणलाई विश्वमाझ नयाँ उचाइमा पुर्याउनुका साथै हिमालमा जोखिममा परेका दर्जनौं आरोहीको उद्धार गरेर उहाँले साहस, मानवीय सेवा र नेतृत्वको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो । पर्वतारोहण व्यवसायलाई प्रवर्धन गर्न निम्सदाइ फाउन्डेसन खाेल्नुभएकाे थियाे । उहाँकाे जन्म २०४० साउन ९ गते म्याग्दीको दाना गाउँमा भएको हो ।










प्रतिक्रिया दिनुहोस्