सुनसरी – देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो । त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ । घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको छ ।
झडपमा घाइते भएका आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ । कोशी अस्पतालमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको उपचार भइरहेको छ ।
त्यस्तै विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
घटनापछि सरकारले गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
दुई समूहबीचको झडपका क्रममा कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।









प्रतिक्रिया दिनुहोस्