२०८३ साउन ११ , सोमबार (2026 Jul 27, Monday)

च्याउ सेवन सचेतना फैलाउदै प्रहरी



दैलेख – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका दुई स्थान दुल्लु नगरपालिका–११ पाल्ता र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटमा जंगली च्याउ सेवन सम्बन्धी सचेतनामूलक कार्यक्रम गराएको छ ।

अस्थायी प्रहरी पोस्ट बैङ्क बिनायकको प्रहरी टोलीले दुल्लु नगरपालिका–११ पाल्तामा स्थानीय नागरिकको सहभागितामा जंगली च्याउ सेवनबाट हुन सक्ने जोखिमबारे सचेतना कार्यक्रम गराएको हो । त्यसैगरी, अस्थायी प्रहरी पोस्ट हाडाकोटबाट खटिएको टोलीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटमा पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा विषालु जंगली च्याउको पहिचान गर्न कठिन हुने, त्यस्ता च्याउ सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या तथा ज्यानसमेत जान सक्ने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न स्थानीयलाई आग्रह गरिएको थियो । साथै, च्याउ विषाक्तताका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनसमेत सुझाव दिइएको थियो ।

विषाक्त च्याउ सेवनबाट हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो । प्रहरीले विषय र सान्दर्भिकता अनुसार यस्ता सचेतना कार्यक्रम ठाउँठाउमा गर्दै आएकाे उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार