दैलेख – सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न आइतबार दैलेख सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसंगकाे समन्वयमा स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना गरेकाे ‘सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाको सडक दुर्घटनाको अवस्था, कारण र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म दैलेखमा ६७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६३ दुर्घटनामा १४ जनाको मृत्यु तथा १७५ जना घाइते भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६५ दुर्घटनामा १० जनाले ज्यान गुमाएका थिए भने १३८ जना घाइते भएका सवारी दुर्घटना अभिलेखमा उल्लेख गरिएकाे छ । आर्थिक वर्ष २०७९/८० मा ७७ दुर्घटनामा १२ जनाको मृत्यु र १०४ जना घाइते भएको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा प्रस्तुत गरिएको कर्णाली प्रदेशस्तरीय दुर्घटना विश्लेषणअनुसार अधिकांश दुर्घटना चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सवारी साधनको प्राविधिक समस्या, ओभरटेक तथा ट्राफिक नियम उल्लङ्घनका कारण हुने गरेको देखिएको छ ।
कार्यक्रममा दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवणकुमार विश्वकर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका इञ्चार्ज वरिष्ठ प्रहरी नायव उपरीक्षक जयसिंह गुरुङ तथा स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत चक्र शाहीले ट्राफिक नियमको पालना, सडक सुरक्षाको महत्व, दुर्घटना न्यूनीकरणका उपाय विषयमा छुट्टाछुट्टै सहजीकरण गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारू, स्वास्थ्य सेवा कार्यालय दैलेख इञ्चार्ज डा. मनाेज बिश्वकर्मा समेतकाे उपस्थिति रहेकाे कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणमा चालक, यात्रु, पैदलयात्री समेतको साझा जिम्मेवारी, ट्राफिक नियमको पूर्ण पालना, सुरक्षित सवारी सञ्चालन र जनचेतना अभिवृद्धिमा समुदायकाे भूमिका विषयमा खुला अन्तरक्रिया गरिएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्