२०८३ असार ५ , शुक्रबार (2026 Jun 19, Friday)

पोषण बारे सामाजिक लेखा परीक्षण



दैलेख  – दैलेखका पाँच स्थानीय तहमा सञ्चालित पोषण परियोजनाले बालबालिका तथा महिलाको पोषण अवस्थामा सकारात्मक सुधार ल्याएको दाबी गरिएको छ। दैलेख सदरमुकाममा शुक्रबार आयोजित ‘पोषण परियोजना सामाजिक लेखा परीक्षण तथा छलफल कार्यक्रम’मा परियोजनाका उपलब्धि, चुनौती तथा सिकाइहरू सार्वजनिक गरिएका हुन् ।

केयर नेपाल, आइडिइ नेपाल र एभरेष्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित परियोजना आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिकामा महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउनु रहेको छ।

सामाजिक लेखा परीक्षणका क्रममा परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा स्रोत–साधनको उपयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा विभिन्न तथ्यांक तथा प्रगतिविवरण प्रस्तुत गर्दै लक्षित समुदायमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि भएको जनाइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले कुपोषण न्यूनीकरणका लागि स्थानीय तह, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक लेखा परीक्षणले पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो ।

एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक दिपक शाहीले पोषण स्वास्थ्यसँग मात्र नभई कृषि, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता विषयसँग समेत जोडिएको बहुआयामिक सवाल भएको बताउनुभयो । उहाँले समुदायस्तरमा गरिएका हस्तक्षेपबाट सकारात्मक नतिजा प्राप्त भएको जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्माले पोषण तथा जनस्वास्थ्यका विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो । पोषण परियोजना संयोजक राजु केसीले परियोजनामार्फत लक्षित समुदायमा पोषणसम्बन्धी ज्ञान, पहुँच तथा व्यवहारमा सुधार आएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार