२०८३ असार २ , मंगलबार (2026 Jun 16, Tuesday)

शर्मालाई महासंघकाे जिल्ला अध्यक्ष जिम्मेवारी



पहिलाे अध्यक्ष सुनार र दाेश्राे कार्यकालका अध्यक्ष शर्मा

दैलेख – नेपाल पत्रकार महासंघको २०८१ मंसिर २८ गते देशभर एकै दिन भएको मतदानमा दैलेख शाखाका अध्यक्ष पदमा बराबर मत ल्याएर निर्वाचित पहिलो कार्यकालका अध्यक्ष अमर सुनारले डेढ वर्ष पूरा गरी दोश्रो कार्यकालका लागि कमलप्रसाद शर्मालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार दिउँसो महासंघको कार्यालयमा एक विशेष कार्यक्रम गरी पहिलो कार्यकालका अध्यक्ष सुनारले दोश्रो कार्यकालका लागि शर्मालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । दुवै जनाले ३०–३० मत प्राप्त भएपछि त्यसबेला पहिलो र दोश्रो कार्यकालका लागि गोलाप्रथाबाट पालो दिइएको थियो ।

अबीर–टीका र खादा–माला पहिर्‍याई पहिलो कार्यकालका अध्यक्ष सुनारले पदीय जिम्मेवारी हस्तान्तण गरिएको पत्र समेत दिई शर्मालाई अध्यक्षको कुर्चीमा बसाल्नुभएको थियो । त्यसबखत महासंघका विभिन्न पदीय भूमिका रहनुभएको पदाधिकारीहरुले टीका–माला पहिर्‍याई बधाई शुभकामना दिनुभएको थियो ।

महासंघकोे विधान अनुसार तीन वर्षे कार्यकाल मध्ये आधाआधा अर्थात डेढ वर्ष बाँडिए मुताविक अघिल्लो कार्यकालका अध्यक्ष सुनारले आफ्नो कार्यकाल सम्पन्न भइसकेकोले नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको निर्णय पुस्तिका र कार्यालयको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार