२०८३ जेठ २४ , आइतबार (2026 Jun 7, Sunday)

रास्वपा जिल्ला अधिवेशन सुरु 



दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम आइतबार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । पार्टीको जिल्ला संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित आयोजित अधिवेशनको उद्घाटन सत्र विभिन्न तहका केन्द्रीय, प्रदेश तथा जिल्ला नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कुसुम महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उद्घाटन समारोहमा पार्टीका विभिन्न विभागका केन्द्रीय पदाधिकारी, कर्णाली प्रदेशका नेता, जिल्ला तहका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

महर्जनले मुलुकको राजनीतिक प्रणालीप्रति नागरिकमा बढ्दो निराशा र असन्तुष्टिलाई चिर्न नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीति जनताको विश्वास जित्ने माध्यम हुनुपर्ने उल्लेख गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामा आधारित राजनीतिक अभ्यासलाई रास्वपाले प्राथमिकतामा राखेको बताउनुभयो ।

महर्जनले पार्टीको संगठन विस्तारसँगै जनताका दैनिक समस्या, विकास निर्माणका सवाल, सेवा प्रवाह र सुशासनका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संगठन निर्माण केवल संरचना बनाउने काम नभई नागरिकको भरोसा जित्ने अभियान भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा रास्वपाको केन्द्रीय अनुसन्धान, विश्लेषण तथा प्रशिक्षण समितिका संयोजक शेरबहादुर सिंहले राजनीतिक दलहरूभित्र समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा गहिरो अध्ययन गरेर जनतामाझ तथ्यमा आधारित राजनीतिक बहस स्थापित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण विभागका सचिव मोहन कोइरालाले उत्पादन, उद्यमशीलता र उपभोक्ता अधिकार संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय उत्पादनको प्रवर्द्धन, साना तथा घरेलु उद्योगको संरक्षण र उपभोक्ताको हित सुनिश्चित गर्ने नीतिमा जोड दिनुभयो ।

त्यसैगरी पार्टीका केन्द्रीय संगठन विभाग सदस्य तेजबहादुर बिक ‘तोरण’ले संगठन विस्तारसँगै पार्टीका सिद्धान्त, नीति र कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । केन्द्रीय शिक्षा विभाग सदस्य अनिल शाहीले गुणस्तरीय शिक्षा, सीप विकास र युवामैत्री नीतिमार्फत देशको भविष्य निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

पार्टीकी सहमहामन्त्री अभिसरा सुवेदीले महिला, युवा तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी लोकतन्त्रको परिकल्पना पूरा हुन नसक्ने बताउनुभयो । रास्वपा दैलेखका जिल्ला अध्यक्ष मित्रराज प्याकुरेलको अध्यक्षतामा भएकाे उदघाट कार्यक्रम सञ्चालन रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले गर्नुभएकाे थियाे ।

ऊर्जा विभाग उपप्रमुख नन्दकिशोर बस्नेत, महिला विभाग सदस्य लक्ष्मी भट्टराई, सदस्य प्रमिला शाही समेतकाे उपस्थिति रहेकाे जिल्ला अधिवेशनकाे बन्दसत्र चलिरहेकाे छ । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले संगठन निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी राजनीतिक अभ्यास, युवाको सहभागिता तथा जनताका मुद्दालाई केन्द्रमा राखेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।  रास्वपाले वैकल्पिक राजनीतिक शक्तिका रूपमा नागरिकमा आशा जगाए अनुरुप व्यवहारमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिएका छन् ।

रास्वपा गुनासो तथा समन्वय विभागका कर्णाली प्रदेश सचिव रमेश केसीले अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जानकारी दिनुभएकाे छ । पार्टीको विधानअनुसार जिल्ला कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्षसहित ११ जना निर्वाचित सदस्य रहने व्यवस्था छ भने थप दुई जना सदस्य मनोनयन गरिनेछन् ।

रास्वपाले देशभर संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला दैलेखमा सम्पन्न प्रथम जिल्ला अधिवेशनलाई संगठन विस्तार र नेतृत्व विकासको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । अधिवेशनबाट चयन हुने नेतृत्वले जिल्लामा पार्टीको गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार