२०८३ जेठ २३ , शनिबार (2026 Jun 6, Saturday)

दुल्लू नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान



दैलेख – दुल्लू नगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले १३ वटै वडाका २०४ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महिला तथा पुरुष ज्येष्ठ नागरिकलाई धोती, कपडा, झोला तथा जनही एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइएको थियो । त्यसैगरी अपाङ्गता भएका बालबालिकालाई उनीहरूको आवश्यकता र शैक्षिक अवस्थाअनुसार विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले राष्ट्र, समाज र परिवार निर्माणमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउनु नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले जीवनभर समाजका लागि योगदान दिएका नागरिकप्रति सम्मान व्यक्त गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा समेत ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका नागरिकका पक्षमा लक्षित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

उपप्रमुख बिना कार्कीले ज्येष्ठ नागरिक समाजका अनुभव र ज्ञानका स्रोत भएको बताउँदै उनीहरूको सम्मानले नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढाले नगरपालिकाले वास्तविक आवश्यकताको पहिचान गरी कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार वितरण गरिएका सामग्रीहरू १३ वटै वडा कार्यालयबाट विवरण संकलन गरी लाभग्राहीको अवस्था र आवश्यकताको अध्ययनपछि व्यवस्थापन गरिएको हो ।

नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला सचिव भीमबहादुर सिजापतिले स्थानीय सरकारले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र सहयोगको संस्कार विस्तार गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

सम्मान तथा सामग्री ग्रहण गरेका ज्येष्ठ नागरिकहरूले स्थानीय सरकारले आफूहरूलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा नगरपालिकाले देखाएको चासो प्रशंसनीय रहेको बताए । यस्तै अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूले शैक्षिक सामग्री सहयोगले बालबालिकाको अध्ययनमा सहजता पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति कृतज्ञता जनाएका थिए ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार