दैलेख – विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय दैलेखले शुक्रबार जिल्ला सदरमुकाम दैलेखबजारमा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग तथा हरित वातावरण निर्माणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
डिभिजन वन कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी जिल्ला सदरमुकामका प्रमुख स्थान गणेशचोक, देवकोटा चोक, नारायण मन्दिर हुँदै कोतगढी परिक्रमा गरेर पुनः कार्यालय परिसरमा पुगेर वृक्षारोपण कार्यक्रम गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका टाेली, सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवा तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण सुनिश्चित गर्न वृक्षारोपण महत्वपूर्ण अभियान गरिएकाे थियाे । वन अतिक्रमण राेकथाम, बढ्दाे जलवायु परिवर्तनकाे असर न्यूनीकरण, वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा दिगो विकासका लागि विश्व समुदायलाई एकजुट गराउन विश्व वातावरण दिवस मनाउने गरिन्छ ।
कार्यक्रमपश्चात आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले वन, पानी र वातावरण एकअर्कासँग अन्तरसम्बन्धित विषय भएकाले प्राकृतिक स्रोतहरूको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर दिनप्रतिदिन बढ्दै गएकाले वन संरक्षणलाई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
त्यसबखत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा दायित्वका रूपमा लिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन विनाश, अव्यवस्थित फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको दोहनले वातावरणीय संकट बढ्दै गएको उल्लेख गर्दै संरक्षणका प्रयासलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले वातावरणीय मुद्दा, जलवायु परिवर्तनका प्रभाव, वन तथा जैविक विविधता संरक्षणका विषयलाई समाचार, लेख, अन्तर्वार्ता र जनचेतनामूलक सामग्रीमार्फत प्रवाह गरिरहेकाे बताउनुभयो । उहाँले प्रकृति संरक्षण अभियानमा मिडियाले खबरदारीका काम अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।
डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमरप्रसाद साहले वन सम्पदा संरक्षण, हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम राख्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले वन संरक्षण र वातावरणीय चेतना अभिवृद्धिका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजित मानव वातावरण सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनपछि संयुक्त राष्ट्र संघले सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालेको हो । यस वर्ष विश्व वातावरण दिवस २०२६ को नारा ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ रहेको छ भने नेपालले ‘प्रकृतिबाट प्रेरित, जलवायुका लागि हाम्रो भविष्यका लागि’ तय गरेकाे छ ।











प्रतिक्रिया दिनुहोस्