२०८३ वैशाख १९ , शनिबार (2026 May 2, Saturday)

रुखको जरा समाएर बाँचे समीर



दुर्घटनामा बाँचेका समीर

राेल्पा – बिहीबार दिउँसो रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको बोलेरो जीपमा भित्र १९ जना थिए, गाडीमा ठावै नपुगेपछि दुई जना छतमा जेनतेन अडिएर यात्रा गर्दै थिए । जलजला पुग्न केही दूरी बाँकी रहँदै सल्यापको भीर नजिक उकालो चडिरहेको बेला एक्कासी पछिल्तिर स¥यो ।

अनि सर्दैैसर्दैै भीरमा खस्यो, गाडी नै खसेपछि छतमा भएका दुबै जनाले हाम्फाले । हाम्फाल्ने मध्येका सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामीले जमीनमा बजारिए नजिकै रुखको जरा फेला पारे, उनसंगै हाम्फालेका अर्का साथी लटपटिएर त्यही गाडीमै च्याएर संगसंगै खसे अनि उनको मृत्यू भयो । दुर्घटनामा चालक सहित २० जनाको ज्यान गयो तर समीर कामी मात्रै जोगिए  ।

‘हामी जलजलामा पूजाका लागि गइरहेका थियौँ । जीप एक्कासि भिरमा गयो । छतबाट हामी दुवैजना हाम फाल्यौँ । साथी तलतिर हाम फालेकाले गाडीले च्यापेर भिरतिर लग्यो, म साइडतिर हाम फालेकाले रुखको जरा समाएर बाँचेँ,’ समीरले भने ।

दुर्घटना अध्ययन गर्न समिति गठन
गृह मन्त्रालयले रोल्पा दुर्घटना अध्ययन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मा दिइएको छ ।

उक्त समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरेन्द्रवीर बिश्वकर्मा, सशस्त्र प्रहरी बल रोल्पाका डिएसपी र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य तोकिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार