
काठमाण्डौं – यमपञ्चकको आज पाँचौं तथा अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाईहरुलाई टीका लगाएका छन् । शुभसाइत खोज्ने फुर्सदिलाहरुले पञ्चाङ्ग निर्णय समितिले तोकेको समय विहान ११ः३७ को समयमा टीका लगाएका छन् । धेरै दिदीबहिनीलाई टीका लगाउन पर्नेहरुले विहान सूर्योदयदेखि रातिसम्म पनि टीका लगाउन सकिने भएकोले अहिले पनि टीकाको क्रम चलिरहेको छ ।
सरकारले तिहारमा कात्तिक कृष्णपक्षीय नरक चतुर्दशी कात्तिक १५ गतेदेखि शुक्ल पक्षीय तृतीय भाेलि कात्तिक १९ गतेसम्म पाँच दिन सार्वजनिक विदा दिएको छ । कात्तिक २० गतेदेखि सरकारी कार्यालयहरू सञ्चालन हुने गृह मन्त्रालयले जनाएकाे छ । तिहारकाे भाईटीकामा कारागार कैदीबन्दी र प्रहरी हिरासतका थुनुवालाई पनि टीका लगाउने प्रवन्ध मिलाइएकाे गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयाे ।
भाईटीकाकाे अबसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुभयो। राष्ट्रपति निवास शीलतनिवासमा उहाँले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ । बालुवाटारस्थित सरकारी निवासमा उहाँले टीका लगाउनुभएको हो ।
नेपाली हिन्दू धर्मालम्बीहरुको दशैंपछि तिहारलाई दोश्रो महत्वपूर्ण चाडको रुपमा मानिन्छ । पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन गाईतिहार लक्ष्मी पूजा, चौथो दिन गोरु तिहार अर्थात गोबद्र्धनपूजापछि अन्तिम दिन भाईटीका लगाइन्छ । भाईटीकामा दाजुभाईले दान दिने र दिदीबहिनीहरूले फूलकाे माला लगाउने र मिष्ठान खाना खुवाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्