२०८३ जेठ १३ , बुधबार (2026 May 28, Thursday)

प्रतिनिधिसभामा सबैभन्दा जेठा अर्जुननरसिंह केसी



काठमाण्डौं – भरखरै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि अब बन्ने सरकार, यसले सुशासन प्रवद्र्धनमा गरिएको अपेक्षा जस्तै संसदको पहिलो बैठकको अध्यक्षता गर्ने विषयमा चर्चा हुन थालेको छ । प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सकिएपछि दलहरुले बुझाएको समानुपातिको बन्दसूची तर्फ कसले कति सिट पाउँछ ? कुल दलबाट को कसको प्रतिनिधित्व हुन्छ भन्ने तर्फ खाका आइसकेको छ ।

प्रत्यक्षको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जित्नुभएका महावीर पुन वा रुकुमपूर्वबाट चुनाव जित्नुभएका नेकपा संयोजक प्रचण्ड मध्ये एकले संसदको पहिलो बैठकको अध्यक्षता गर्नुहुन्छ होला भन्ने अन्दाज गरिरहेका बेला समानुपातिक तर्फ नेपाली काँग्रेसले पाउने २० मध्ये खस आर्यबाट ६ जना प्रतिनिधित्व गर्दा पुरुष तर्फको १ नं. मा रहनुभएका अर्जुन नसिंह केसी नै नवगठित प्रतिनिधिसभामा सबै भन्दा ज्येष्ठ सदस्य हुने निश्चित भएको छ ।

विक्रम सम्वत २००४ असोज ११ गते नुवाकोटको राउतवेसीमा जन्मनुभएका केसी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्तातकोत्तर गर्नुभएको छ । यसअघि २०४८, २०५१, २०५६, २०७०, २०७९ समेत नुवाकोटबाटै साँसद निर्वाचित हुनुभएका यस पटक समानुपातिक तर्फबाट खस आर्यको पुरुष तर्फ १ नं. मा पर्नु भएको छ । संसदबाट नयाँ सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभाका बैठकहरुको अध्यक्षता उहाँले नै गर्नुहुनेछ ।

२०५२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री, २०५५ मा शिक्षा मन्त्री, २०५७ मा आवास तथा भौतिक योजना मन्त्री, २०७३ मा सहरी विकास मन्त्री समेत बन्नुभएको थियो । नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, पछि संयोजक लगायत काँग्रेसको राजनीतिक सक्रियताको क्रममा १२ महाधिवेशनबाट नेपाली काँग्रेसको महामन्त्री पदसम्म पुग्नुभएको थियो । मृदुभाषी, तार्किक र स्पष्ट वक्ताको छवि बनाउन भएका केसी ७८ वर्ष नाघिसक्नुभएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार