२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

विभेद गर्नेलाई कारवाही र राम्राे गर्नेलाई पुरस्कार जरुरी



दैलेख – दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले महिला अधिकार प्रवर्द्धनको क्षेत्रमा रचनात्मक काम गरेकाहरुलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।

११६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा नारायण नगरपालिकाको संयोजनमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा राम्रो काम गरिरहेकालाई पुरस्कृत र गलत गर्नेहरुलाई कडा रुपमा कानूनी कारवाही सजाय गर्ने गरेमा महिला अधिकार प्रवर्द्धनमा सकारात्मक सहयोग पुग्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले महिनावारीको समयमा महिलाले छाउगोठमा बस्नुपर्ने, घरेलु हिंसा सहनपर्ने नियम बनाएको सामाजिक कुरीति विरुद्ध महिलाले नै आवाज नउठाएसम्म महिला माथिको शोषण, दमन र विभेद नहट्ने बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बुढाले लैंगिक समानता हरेक घरबाट सुरु हुनुपर्ने तर्क राख्नुभयो ।

लैंगिक समनाता संञ्जालका जिल्ला अध्यक्ष रत्ना रेग्मीको अध्यक्षता भएको कार्यक्रममा समाजमा महिला माथि भइरहेको लैंगिक हिंसा रोकथामका निम्ति समुदायको भूमिका र राज्यको अग्रसरता बारे अन्तरक्रिया केन्द्रित रहेको थियो ।

कार्यक्रम सशक्त महिला समृद्ध नेपाल कार्यक्रमका साझेदारहरु सोसेक, आवाज संस्था, टिपियो, आरडीएससी, महिला सशक्तिकरण मञ्च, इन्सेक, एभरेष्ट क्लव, सम्वन्ध नेपाल, गैसस महासंघ लगायत सहआयोजक थिए ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रचलन छ ।

यो वर्ष सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अवसर राष्ट्रि नारा सहित नेपालभर दिवस मनाइएको थियो । दिवसको अवसरमा नारायण नगरपालिका हातामा साँझ दिप प्रज्ववलन समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार