२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

अस्ट्रेलियालाई हराउँदै नेपाल बन्याे समूह विजेता



हङकङ इन्टरनेशनल सिक्सेसमा नेपाल समूह विजेता बनेको छ । शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा अस्ट्रेलियालाई ११ रनले पराजित गरेर नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २ विकेटको क्षतिमा १०० रनमात्रै बनाउन सकेको थियो । पहिलो ओभरको तेस्रो बलमा प्रतिश जिसीले अस्ट्रेलियाका ओपनर साम हेजलेट १ रनमै आउट भएका थिए । ‍

दोस्रो विकेट पनि प्रतिशले नै लिए । तेस्रो ओभरको पहिलो बलमा उनले ड्यान क्रिस्टियनलाई बोल्ड गरे । क्रिस्टियनले ५ बल खेल्दै १ छक्का हानेर ९ रन बनाएका थिए । च्यही ओभरको अन्तिम बलमा एलेक्स रोसलाई पनि प्रतिशले बोल्ड गरेका थिए ।

रोसले ४ बलमा २ चौका र १ छक्का हानेर १४ रन बनाएका थिए । पाँचौं ओभरको अन्तिम बलमा लोकेश बमले फवद अहमदलाई आउट गरे। अहमद ४ बलमा ८ रन बनाएर खेलिरहेका थिए । अन्तिम ओभरमा जितका लागि अस्ट्रेलियालाई २२ रन आवश्यक थियो ।

नेपालका तर्फबाट लोकेश बम बलिङमा थिए । उनले पहिलो बलमा १ रन, दोस्रो बलमा ४ रन, तेस्रो बलमा १ रनमात्रै दिए। पाँचौं बलमा एन्ड्रियू फेकेटलाई प्रतिश जिसीबाट क्यादच आउट गराए। अन्तिम बलमा चौका हानेपनि अस्ट्रेलिया पराजित भएको हो ।

अस्ट्रेलियाका लागि ज्याक उडले नट आउट ५५ रन बनाए। उनले १६ बलमा ४ चौका र ६ छक्का हाने । पहिले ब्याटिङ गरेको नेपालले २ विकेट मात्रै गुमाएर १११ रन बनाएको थियो । त्यसक्रममा सन्दीप जोराले १६ बल खेलेर ५ चौका र ४ छक्का हान्दै ५१ रन बनाए ।

लोकेश बमले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाए । त्यस्तै विवेक यादवले १२ रन बनाए । रसिद खान १२ रन र नारायण जोशी १ रन बनाएर नट आउट रहे । बलिङतर्फ ज्याक उडले २ विकेट लिएका थिए ।

जितसँगै नेपाल समूह बी को समूह बिजेता बनेको हो । पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । अस्ट्रेलियासँग पनि पराजित भएपछि इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिसकेको छ । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । यो खेल शनिबार दिउँसो साढे १ बजे हुनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक १७ गते शनिबार