२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

बस दुर्घटना आठ जनाको मृत्यू



बैतडी – जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या ८ पुगेको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।

सुदूरपश्चिम ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रमुख डीएसपी दीपककुमार रायले बताउनुभयो । मृतकमा एक महिला र सात पुरुष छन् ।

मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्बी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी–७ का ४० वर्षीया पुष्पा अवस्थी रहेको डीएसपी जानकारी दिनुभयो ।

४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेकाले थप विवरण आउन बाँकी छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार