दैलेख – गएको भदौ २२ गते भगवतीमाई गाउँपालिका-२ बेस्तडामा २२ वर्षीय गोबिन्द बिकको रहस्यमय तरिकाबाट हत्यामा संलग्न आरोपित ७ जना सबैलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट बिहीबार आदेश भएको हो ।
हत्यामा संलग्न भगवतीमाई गाउँपालिका-४ तुर्सु गाउँका १९ वर्षीया सागर भन्ने भूपेश बिक र २५ वर्षीया अनिता बिकलाई दैलेख कारागारमा र हत्यामा संलग्न १८ वर्ष मुनिका ५ जना बालकहरुलाई बाँकेको नौबस्ता सुधार गृहमा पठाइएको दैलेख जिल्ला अदालतका निमित्त श्रेस्तेदार गणेशप्रसाद रिजालले जानकारी दिनुभयो ।
दैलेख १२ को मुख्य योजनामा दैलेख ८, दैलेख ९, दैलेख १० र दैलेख ११ समेत परिवर्तित नाम गरेका ५ जना बालकहरु, सागर भन्ने भूपेश बिक र अनिताको संलग्नतामा गएको भदौ २२ गते राति बेस्तडा बजारस्थित दैलेख १२ को घरमा हत्या गरी राति नै ४ सय मीटर तल कट्टी खोला बगाएको शव २३ गते विहान फेला परेको थियो ।
सुरुदेखि शंका गरिएका ती व्यक्तिको संलग्ता बारे प्रहरीले पुस २९ गते हत्याको रहस्य बारे पत्ता लगाई ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले मंगलबार दर्ता गरेको कर्तव्य ज्यान मुद्दामा आरोपितको बयान र थुनछेक बहसपछि अदालतको आदेश आएको हो ।









प्रतिक्रिया दिनुहोस्