हुम्ला – मुगु र हुम्ला जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। चार करोड ९८ लाखमा बेलि ब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर नरेशराज जैसीलेका अनुसार ४२ मिटर लम्बाइको उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ ।
लोती खोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारी साधनका लागि काठको पुल बनाइएको थियो ।
खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए। हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर थिए ।
चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । निरन्तरको पहलपश्चात् बेली ब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो ।
पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई रारा ताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता मात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ ।
यही साउन १३ गतेका दिन औपचारिक रूपमा उद्घाटन गरी हुम्ला मुगु लिंक हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (¥याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात् यो बेलिब्रिज निर्माण भएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको स्वीकृत बजेटमा पूर्वाधार विकास कार्यालयले २०८१ साल मंसिर २३ गते सम्झौता भई असार अन्तिम सातामा उक्त बेलिब्रिज सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्