२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

मिथ्या सूचनाबाट सजग रहन पत्रकारलाई आग्रह



दैलेख – नेपाल पत्रकार महासंघका पूर्वसभापति एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले चुनावी समाचारमा सन्तुलन राख्न पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघले दैलेख सदरमुकाममा बिहीबार आयोजना गरेको आसन्न्न निर्वाचन र पत्रकारका भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मिथ्या सूचनाहरुको जाँच गर्न पत्रकारहरुले सधैं सजगता अपनाउन आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त आचार्यले भन्नुभयो ‘राजनीतिक दल र उम्मेदवारहरुले सस्तो लोकप्रियता र भ्रम छर्ने उद्देश्यले पत्रकारहरुलाई नै प्रयोग गरेर मिथ्या सूचना (मिस इन्फरमेसन) फैलाउन सक्ने धेरै सम्भावना हुने भएकोले श्रोताको जाँच गरी बास्तविकताको आधारमा चुनावी समाचार प्रवाह गर्नुपर्ने दायित्व हुन्छ । समाचारको सन्तुलन र विश्वसनीयताले पत्रकारको व्यवसायिक भविष्य जोडिएकोले मिडियाह सजग हुन जरुरी छ ।’

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपाल सुर्खेतका कार्यालय प्रमुख विजय बर्मा, हुलाक सेवा कार्यालयका कर्णाली प्रदेश निर्देशक गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले आगामी फागुन २१ गते निर्वाचनको निष्पक्ष प्रचारप्रसार, निर्वाचन आचार सहिंता र पत्रकारहरुको भूमिका विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार