दैलेख – दैलेखका विभिन्न १० स्थानमा निर्माण गर्न लागिएका झोलङ्गे पुलहरुको संरचना निर्माण र व्यवस्थापनका विषयमा उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रीहरु समेत ४० जनाका लागि झोलङ्गे पुल निर्माण सम्वन्धी ६ दिने अभ्यास तालिम मंगलबारदेखि सुरु भएको छ । कर्णाली प्रदेश सरकारको अनुदानमा ग्रामीण विकास सेवा केन्द्रको समन्वयमा पूर्वाधार विकास कार्यालय दैलेख तालिमको आयोजना गरेको हो ।
डुंगेश्वर गाउँपालिकाको वडा नं. १ र २ जोड्ने खाडा नजिक खडाखेत, डुंगेश्वर गाउँपालिकाको वडा नं.६ को चित्रेकुना, आठबीस नगरपालिकाको वडा नं. ३ को चौड जोगीढुंगा निमायल, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ को गोठीखोला ट्रस, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ कै ध्याप गोठीखोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रीहरु तालिममा सहभागी हुनुहुन्छ ।
त्यसैगरी ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ र चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. २ को मुथीखोला खोलीबजार, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ६ को सियाली देउलीसिम, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ५ र ६ को बालेखोला, भगवतीमाई गाउँपालिकाको वडा नं. ४ र ५ जोड्ने मलुका हितगल्ली र आठबीस नगरपालिकाको वडा नं. ५ को हुकाने गोर्खे झोलुंगे पुल निर्माण उपभोक्ता समितिबाट पनि तालिममा सहभागिता छ ।
तालिम उद्घाटन कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख प्रबीण कार्कीले उपभाेक्ताहरुले आफैले उपभाेग गर्ने भएकाेले गुणस्तरीय निर्माणमा सजग रहन आग्रह गर्नुभयो । झोलुंगे पुल निर्माणको प्राविधिक समन्वय गरिरहेको ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नविन शर्मा, सबइञ्जिनियरद्वय सुरज बुढा र तुलाराम बोहोराले झोलुंगे पुल निर्माण नमूना अभ्यासमा तालिम सहजीकरण गरिरहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्