२०८२ माघ ५ , सोमबार (2026 Jan 19, Monday)

दुल्लूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



क्षेत्र नं. २ का निर्वाचन अधिकृत लाेकहरी कँडेल बाेल्दै

दैलेख – दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा सदरमुकाममा निर्वाचन क्षेत्र नं. १ को समेत कार्यसम्पादन गर्ने गरी मुख्य निर्वाचन कार्यालय भएकै दिन शुक्रबार निर्वाचन क्षेत्र नं. २ को मुख्य मुकाम दुल्लूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

शुक्रबार दिउँसो दुल्लू नगरपालिकाको कार्यालय हातामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे र निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरी कँडेलले एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा कार्यालय स्थापना घोषणा गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृत पाण्डेले जिल्ला निर्वाचन कार्यालय र दुल्लू नगरपालिकालाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । क्षेत्र नं. २ का निर्वाचन अधिकृत कँडेलले मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारीहरुको उपस्थितिले आफूलाई थप उत्साह थपेको बताउनुभयो ।

कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्कीले क्षेत्र नं. २ का निर्वाचन अधिकृतको कार्यालय दुल्लू नगरपालिका हाता भित्र स्थान उपलब्ध गराइएकोले पनि नगरपालिकाले आवश्यक सहयोग गर्न सधैं तत्पर रहेको र यो आफूहरुको दायित्व भएको बताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निर्वाचन राष्ट्रिय अभियान भएकोले स्वच्छ, निष्पक्ष र शान्तपूर्वक निर्वाचन गराउन सरकारका सबै निकाय, राजनीतिक दल, नागरिक समाज र मतदाता स्वयमले सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक मातृका पौडेल, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बुढा, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख नरबहादुर सलामी, दुल्लू इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर खड्का समेतको कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार