दैलेख – फौजदारी मुद्दा चलेका मध्ये कोही फैसला भएर कसूरदारलाई सजाय भएका, कोही अदालती तहकीकात चलिरहेका र कोही घटनामा कसूरदार भागेको कारण मुद्दा मुल्तवीमा बसेका घटनाहरुमा प्रहरीले न्यायिक प्रक्रियामा गरेको कामप्रति पीडितहरुको धारणा बुझ्न जिल्ला प्रहरी कार्यालय दैलेखले पीडितसंग प्रहरी भेटघाट कार्यक्रम गरेको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता नै हुन नदिन समाजको दवाव हुने, मुद्दा दर्तापछि पीडकको पक्षधर भएर समाजमा एक्ल्याउने, अदालत पुगेपछि होष्टायल हुन परिबन्धमा पार्ने, होष्टायल हुन नमानेमा प्रलोभन तथा धम्की आउने, अदादतबाट सजाय भएका मुद्दाहरुमा सजाय कार्यान्वयन प्रक्रिया लामो भएको सहभागीहरुले समस्या सुनाए ।
अपराध घटनाका पीडक फरार भएको मुद्दामा प्रहरी अनुसन्धानमा पनि बढी पर्खिनु परेको, फरारलाई अदालतमा हाजिर गराउने प्रक्रिया लामो भएकोले पीडितले न्यायको लागि बढी समय खर्च भएको, पीडितले न्याय पाउन सहज हुने गरी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउनुपर्ने पीडितसंग प्रहरी भेटघाट कार्यक्रम सहभागीहरुले दर्शाएका थिए ।
बलात्कार घटनाबाट जन्मेका सन्तानहरुको जन्मदर्तामा समस्या भएको, बहुविवाहको मुद्दामा सजाय पाएकाहरु पहिलो श्रीमति र बालबच्चाहरु बेवास्ता गरी कान्छीसंग बसेका, कतिपय घटनामा घरमा कमाईकाज गर्ने मुख्य मान्छे हत्या भएका घटनामा आश्रित परिवारहरुलाई लालनपालन, शिक्षादीक्षा र सुरक्षाको चुनौती बढेको पीडितहरुले सुनाए ।
पीडितहरुका कुरा सुनेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले आफ्नाे कार्यालयबाट सुधार गरेर हुनसक्ने काममा आफूहरुले तुरुन्त सुधार गर्ने र अरु क्षेत्रबाट गर्न सकिने कामका लागि पनि सहजीकरण गर्ने बचन दिनुभयो । कार्यक्रममा मुद्दा शाशाखा इञ्चार्ज प्रहरी निरीक्षक पुष्प रोकायको पनि उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्