२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

तत्परताले बजेट श्राेत जुट्छ : सचिव कर्ण



दैलेख – कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव संजीवकुमार कर्णले स्थानीय तहका पशुपंक्षी शाखामा कार्यरत पशु चिकित्सव तथा पशु विकास सेवाका कर्मचारीहरुलाई समन्वय र सहकार्य बढाउन निर्देशन दिनुभएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेख र जिल्लाका ११ स्थानीय तहका पशुपंक्षी शाखाको अर्ध वार्षिक समीक्षा र मन्त्रालयले दैलेखमा आयोजना गरेको पशुबस्तुमा लाग्ने रोग र महामारी रोकथाम सम्वन्धी अभिमुखीकरण कार्यक्रम यो बताउनुभएको हो ।

सचिव कर्णाले स्थानीय तहमा पशु चिकित्सव तथा पशु विकास सेवाका कर्मचारीहरुले इच्छाशक्तिका साथ काम गरेमा श्राेत जुटाउन सहज हुने  बताउनुभयो । किसानको घरदैलोमा सेवा पुर्‍याउने माध्यम नै स्थानीय सरकार भएकोले आफूले हासिल गरेको ज्ञान, सीपको आधारमा प्रभावकारी सेवा पुर्‍याउने योजना प्रस्ताव गर्ने र जनस्तरमा पनि उत्प्रेरणा जगाउन सके बजेट जुटाउन सहज हुने उहाँको सल्लाह थियो । सचिव कर्णले भन्नुभयो बजेट श्रोत बढाउने कर्मचारीको सहकार्य, समन्वय र तत्परतामामा भर पर्छ ।

त्यसबखत मन्त्रालयको पशु सेवा प्रयोगशालाका प्रमुख डा. अर्जुन पण्डितले पशु स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली विषयमा सहजीकरण गर्नुभयो । पशु बस्तुमा लाग्ने रोगहरु र महामारीको पहिचान, उपचार, रोकथामका उपाय लगायतका तथ्यांक संकलन तथा अध्यावधिक प्रणालीको महत्व विषयमा प्रकाश पार्नुभयो । मन्त्रालयको पशुपंक्षी महाशाखा प्रमुख डा. अनुप श्रेष्ठले रोगको महामारी फैलिंदा समयमा सूचना व्यवस्थापन हुँदा रोकथाम र प्रभावकारी उपचार हुने भएकोले सधैं चनाखो हुन सुझाव दिनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख प्रचण्ड खड्काले गएको साउनदेखि सुरु भएको ६ महिना अवधिमा गरेका कार्यक्रम, कार्यक्रम सञ्चालन गर्दाको सहकार्य र समन्वयमा स्थानीय तहसम्म पशुपंक्षी विकाससंगै उपाचार पद्धति विषयमा प्रकाश पार्नुभयो । अर्ध वार्षिक समीक्षा कार्यक्रममा दैलेखका ११ स्थानीय तहका पशुपंक्षी शाखाका प्रमुखहरु पशु रोगको उपचार तथा पशु सेवा प्रवद्र्धनका काम बारे जानकारी दिनुसंगै स्थानीय तहमा झेल्नु परेका समस्या र चुनौती बारे सुनाउनुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार