
दैलेख – उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले साेमबार भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबजारको दशैं बजार अनुगमन गरेको छ । दैलेखको समयमा खाद्यन्न, लत्ता कपडा र दैनिक उपभोग्य बस्तुको गुणस्तर तथा शुद्धता, मूल्य र सहज उपलब्धता विषयमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यालय प्रमुख शंकर थापाले बताउनुभयो ।
व्यवसाय दर्ता, नवीकरण तथा अध्यावधिक गर्न प्रोत्साहित गर्न, दर्ता नभई चलेको पसल व्यवसायहरुलाई अनिवार्य दर्ता गर्न लगाउने, बजारको नापतौल, उपभोग्य बस्तुको बजार दररेट राखे नराखेको, म्याद नाघेका बस्तुहरु विक्री वितरण रोक्ने जस्ता मुख्य विषयमा अनुगमन बढी ध्यान दिएको जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत गणेशविक्रम शाहले जानकारी दिनुभयो ।
बजार अनुगमनको क्रममा अनुमति नलिई एक वर्षदेखि व्यवसाय चलाइरहेका एक जना व्यापारीलाई ५ हजार रुपैंयाँ जरिवाना गरेको र जफत गरिएको याद नाघेका खाद्य बस्तुहरु जलाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका सूचना अधिकारी पर्शुराम आचार्यले जानकारी दिनुभयो । अनुगमनमा गाउँपालिकाका प्रतिनिधि, पत्रकार र प्रहरी समेतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्