काठमाण्डौं – नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाल पत्रकार महासंघका पूर्वसभापति एवम् पूर्व मन्त्री होमनाथ दाहालको गएराति निधन भएको छ । घुँडासम्बन्धी समस्याबाट पीडित दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो ।
काठमाण्डौंको मैतीदेवी निवासमा हृदयाघात भएपछि उहाँलाई उपचारका लागि बीर अस्पताल लगिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएकाे नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयाे ।
वि.सं. १९९८ साल कात्तिक २५ गते ओखलढुङ्गाको साविक बरुणेश्वर गाविस–३, रामपुरमा जन्मिएका दाहालले नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला सदस्य तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्यकाे जिम्मेवारी सम्हाल्नुभएको थियो ।
वि.सं. २०५६ मा ओखलढुङ्गा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि २०६१ मा उहाँ कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो । गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक हुनुभएकाे थियाे । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्